म्याग्दी : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै ल्याएको अध्यादेशले निजी क्षेत्रलाई लगानी वृद्धिको वातावरण बनाएको बताएका छन् ।
मंगलबार आठौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनबाट निजी क्षेत्र उत्साही भएको प्रतिक्रिया दिएका हुन् ।
पुष अन्तिम साताको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार राष्ट्रपति समक्ष सिफारिस गरेको सुशासन प्रर्वद्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यवसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।
‘सरकारको तर्फबाट भएको कानुनको परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ,’ अध्यक्ष ढकालले भने ‘निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ ।’
नेपाल उद्योग वाणिज्य संघको अगुवाइमा प्रस्तावित कानुन निर्माणका क्रममा निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार भन्दा बाहिर राख्न सफल भएको पनि अध्यक्ष ढकालले बताए ।
नेपालमा प्रशस्त प्राकृतिक स्रोत र विकासका काम गर्नुपर्ने भएकाले लगानी र आम्दानीको सम्भावना भएपनि नकारात्मक भाष्य निर्माण भएकोमा दुःख व्यक्त गरे । अध्यक्ष ढकालले म्याग्दीका उद्योगी, व्यवसायीहरूले तयार पार्ने कृषि, पर्यटन, जलस्रोत सम्बन्धी योजनामा लगानी भित्र्याउन उद्योग वाणिज्य महासंघ मार्फत सहजीकरण गर्ने प्रतिवद्धतासमेत जनाए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रर्वद्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षणका लागि महोत्सव सफल भएको बताए ।
महोत्सवमा औद्योगिक उत्पादनका दुई सय ३० वटा स्टल रहेका थिए ।
प्रतिक्रिया