धरान : धरान रंगशालामा जारी बुढासुब्बा गोल्डकपको सोमबार भएको खेलमा पाहुना टोली युनाइटेड कार्साङ फुटबल क्लब (युकेएफसी)सँग आयोजक धरान फुटबल क्लब स्तब्ध बनेको छ ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकर पनि ५–५ गोलको बराबरी भएपछि खेलको निर्णय सडन डेथमा पुगेको थियो ।
धरान फुटबल क्लबका मनोज राईको प्रहार पोष्ट माथिबाट बाहिरिएपछि युकेएफसी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेलको १७ औं मिनेटमा नै उत्कृष्ट गोल गर्दै हेमराज भुजेलले युकेएसफीलाई अग्रता दिलाएका थिए । नयन प्रधानले प्रहार गरेको पावर सट धरानका गोल किपर प्रविण लिम्बूले रोकेपछि रिबाउण्डमा भुजेलले उत्कृष्ट गोल गरे ।
खेलको ४४ औं मिनेटमा धरानका विनोद राईले जवाफी गोल गर्दै टिमलाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । मैदानको बीच भागबाट बल अगाडि बढाउदै उनले गोल किपरलाईसमेत बिट गर्दै उत्कृष्ट गोल गरेका थिए ।
पहिलो हाफको तुलनामा दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको धरानले गोल गर्न नसक्दा पराजित हुन पुग्यो । तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको धरानले दोस्रो हाफमा गोल गर्ने अवसर पटकपटक गुमाएको थियो ।
दोस्रो हाफको ११ औं मिनेटमा मनोज राईले मिलाएको क्रसपासलाई डिबक्स भित्रबाट तपन कार्कीले गोल गर्न चुके । २३ औं मिनेटमा कार्लाेसले दिएको पासलाई बिबेक राईले हेड गोल गर्न चुके ।
टाइब्रेकरमा धरानका दोर्जे तामाङ, विवेक राई, सुम जिमी, कार्लाेस सम र बाफोरले गोल गरे ।
त्यस्तै, सडन डेथमा धरानका प्रज्वल थापाले गोल गरे भने मनोज राईको प्रहार आकाशिएको थियो । त्यस्तै, टाइब्रेकरमा युकेएफसीका विशाल क्षेत्री, सदिस राई, श्रीजल राई, रुस्तम प्रधान र राज राउतले गोल गरे ।
सडन डेथमा आकाश प्रधान र हेमराज भुजेलले गोल गरेका थिए ।
बुढासुब्बा गोल्डकपमा सोमबार इटहरीको राजा क्लब र भुटानको आरटिसीबीच दिनको ३ बजे धरान रंगशालामा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतिक्रिया