इटहरी : कोशी प्रदेशमा ४५ हजार भन्दा बढी किशोरी विद्यालय बाहिरै रहेको पाइएको छ । सरकारले २०७९ साल भदौ २३ गते नै साक्षर प्रदेश घोषणा गरेको भए पनि अझै ४५ हजार तीन सय ३४ जना किशोरी विद्यालय बाहिरै रहेको पाइएको हो ।
देशव्यापी रूपमा सुरू भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका किशोरीहरूलाई लगाउन सङ्कलन गरिएको तथ्याङ्कमा किशोरीहरू अझैँ विद्यालय बाहिर रहेको उल्लेख गरिएको छ ।
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता आस्था थापाले कोशी प्रदेशका दुई लाख ५० हजार बढी किशोरीलाई एचपीभी खोप लगाउने बताइन् । जसमा विद्यालयमा अध्ययन गर्ने छात्राहरू दुई लाख २० हजार पाँच सय ८४ छन् भने ४५ हजार ३ सय ३४ जना विद्यालय नजाने किशोरीलाई खोप लगाइन्छ । जसअनुसार दुई लाख ६५ हजार नौ सय १८ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको उनले जनाइन् ।
खोप १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लगाइँदैछ । उक्त सङ्ख्या अनुमानित सङ्ख्या रहेको थापाको भनाइ छ । उनले सरकारको खोप अभियानलाई सघाएर रोग लाग्न नदिनका लागि अपिलसमेत गरिन् ।
तर, साक्षर प्रदेश घोषणाको अढाई वर्ष पुग्न लाग्दासमेत हजारौँ किशोरी विद्यालयबाहिर हुनुले भने चिन्ताको विषय थपिएको छ । कोशीको शिक्षा क्षेत्रसमेत हेर्ने सामाजिक विकास मन्त्री पाँचकर्ण राईले यस विषयमा आफूले बुझ्ने बताए । ‘यो विषय नोटिसमा लिएको छु । थप बुझेर काम गर्न सकिन्छ,’ उनले भने ।
हुन त १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएमा सो क्षेत्रलाई साक्षर घोषणा गर्न सकिने नीति रहेको छ । तर, विद्यालय जाने उमेर (१०–१४) समूह नै हजारौंको सङ्ख्यामा विद्यालयबाहिर देखिनुले यसमा चुनौती थपिने जानकारहरू बताउँछन् ।
शिक्षाको क्षेत्रमा अभियान चलाइरहेकी वृन्दा भट्टाचार्य भन्छिन्,‘जतिसक्दो सानो उमेरबाटै विद्यालय जाने वातावरण बनाइयो भने बालबालिकालाई शिक्षामा केन्द्रित गर्न सकिने हुन्छ । विद्यालय जान नपाउने बालबालिकाका लागि सरकारले सोचेर काम गर्न जरूरी छ ।’
प्रतिक्रिया
लेखकको बारेमा
खेमराज सापकाेटा
सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।
प्रतिक्रिया