विराटनगर : मोरङमा वडाध्यक्षको भैँसी मरेपछि पशुपन्छी शाखा प्रमुखमाथि छानबिन भएको छ ।
मोरङको केराबारी गाउँपालिकामा गलत तरिकाले औषधि खुवाउँदा वडाध्यक्षको भैँसी मरेको भन्दै पशुपन्छी शाखा प्रमुखलाई कारबाही गरी काममा रोक लगाइएको छ ।
उपचार गर्ने क्रममा भैँसी मरेपछि कामकारबाहीमै रोक लगाएर पशुपन्क्षी शाखाका प्रमुख सहदेव साहमाथि गाउँपालिकाले छानबिन अघि बढाएको हो । साहलाई बिहीबारबाट गाउँपालिकामा हाजिर गर्न रोक लगाइएको छ । छानबिनका लागि गाउँपालिकाको कृषि तथा सहकारी शाखा प्रमुख टेकप्रसाद बाँस्तोलाको संयोजकत्वमा पशु प्राविधिक र जनप्रतिनिधिसहितको तीन सदस्यीय समिति गठन गरिएको छ ।
समितिले घटनाका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउने र उपचारका क्रममा गल्ती भए नभएको यकिन गर्ने जिम्मेवारी पाएको छ । घटनास्थल मुचुल्का उठाएर परीक्षणका लागि मृत भैँसीको नमुना संकलन गरिएको संयोजक बाँस्तोलाले बताए । परीक्षणको ‘रिपोर्ट’ आइसकेपछि थप कारबाही अघि बढाउने गाउँपालिकाको तयारी छ ।
पशुपन्क्षी शाखाका प्रमुख साहले उपचार गर्ने क्रममा केराबारी गाउँपालिका–३ का वडाध्यक्ष रामचन्द्र शाहीको भैँसी मरेको थियो । भैँसी गत मंगलबार मरेको हो । भैँसी मरेपछि वडाध्यक्षसहित केही गाउँलेहरू गाउँपालिकामा ‘डेलिगेसन’ गएका थिए ।
वडाध्यक्ष शाहीले दुई पक्षलाई राखेर छलफल गराई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गर्दै गाउँपालिका र इलाका प्रहरी कार्यालय केराबारीमा निवेदनसमेत दिएका छन् । प्रहरीमा शुक्रबार छलफल भएको थियो । तर, छलफलका क्रममा साहले आफूबाट कुनै गल्ती नभएको बताएका थिए ।
वडाध्यक्ष शाहीले भने पशुपन्छी शाखा प्रमुख साहको लापरबाहीले आफ्नो भैँसी मरेको बताए । ‘घरमा एक महिना सात दिनको सुत्केरी भैँसी थियो । दैनिक १२ लिटरसम्म दूध दिन्थ्यो । नाम्लेको लक्षण देखिएपछि गाउँपालिकाबाटै पशु स्वास्थ्यकर्मी झिकाएर देखायौं । औषधि खान दिए । तर, भैँसी मर्यो,’ उनले भने ।
उनका अनुसार सुत्केरी भएको २२ दिनमै नाम्लेको औषधि खुवाइसक्नुपर्नेमा ढिलो भएको भन्दै २ बोतल (प्रतिबोतल १ सय मिलिलिटर) औषधि एकैपटक खुवाउनु भनेर साहले दिएका थिए । बिहान ७ बजे औषधि खुवाएको भैँसी करिब ३ घण्टापछि छटपटाउन थालेको शाहीले बताउँछन् ।
‘सुत्केरी भैँसी भुइँमा ढलेर छटपटाउन थालेपछि पुनः साहलाई बोलायौं । औषधि धेरै भएकाले समस्या भएको भन्दै त्यसको असर ९विष० हटाउने सुई लगाउनुपर्छ भने । एकैपटक २ वटा सुई लगाइदिए । केहीबेरमा त भैँसी मरिहाल्यो,’ उनले भने । भर्खरै बियाएको भैँसी मर्दा आफूलाई १ लाख ४० हजार रूपैयाँ बराबरको नोक्सान भएको शाही बताउँछन् ।
उनले नाम्लेको औषधि ‘ओभरडोज’ भएर भैँसी मरेको दाबी गरे । ‘एकैपटकमा धेरै औषधि दिएकाले भैँसी मरेको हो । उपचारमा संलग्नलाई कारबाही हुनुपर्छ । हामी किसान हौं । क्षतिपूर्ति पाउनुपर्छ,’ उनी भन्छन् । तर, गाउँपालिका र प्रहरीमा छलफल गराउँदा साहले आफ्नो गल्ती स्वीकार नगरेको र बरु कानुन अनुसार अघि बढ्न तयार छु भनेर अड्डी कसेको वडाध्यक्ष शाहीले बताए ।
साहमाथि भएको कारबाहीलाई लिएर गाउँपालिकाका कर्मचारी भने रुष्ट बनेका छन् । कार्यालय समयमा कर्मचारीले कार्यालयकै औषधि लगेर खुवाउँदा पशु चौपाया मारेमा दोष दिन नमिल्ने उनीहरुको तर्क छ । भैँसीको गोबर परीक्षण गरेर नै पशु प्राविधिक साहले औषधि चलाएको पाइएको कर्मचारीहरू बताउँछन् ।
एक कर्मचारीले वडाध्यक्षको भैँसी मरेर क्षति भएपनि दबाबका भरमा जेपायो त्यही गरिएको र कर्मचारीलाई अनआवश्यक ‘टर्चर’ दिने काम भइरहेको बताए ।
गाउँपालिकाका पशुपन्छी शाखा प्रमुख साहले भने यस विषयमा कुनै प्रतिक्रिया दिन चाहेनन् । ‘अहिले म केही पनि भन्दिन’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष मनमाया मगरले आफू बाहिर रहेकाले धेरै कुरा थाहा नभएको बताइन् । ‘उपचारका क्रममा वडाध्यक्षको भैँसी मरेको कुरा मैले पनि सुनें । तर, विज्ञहरूसँग बुझ्दा औषधि ठीक हो, गलत हैन भनेका छन् । थप कुरा छानबिनबाट खुल्छ होला,’ उनले भनिन् ।
गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङले समस्या समाधान नभएसम्मका लागि पशुपन्छी शाखा प्रमुखलाई काममा रोक लगाइएको बताए । ‘कर्मचारीकै लापरबाहीले भैँसी मर्यो भनेर वडाध्यक्षले गुनासो गर्नु भएको छ । त्यस विषयमा छानबिन हुँदैछ । समस्या टुंगोमा नपुगेसम्मका लागि हाजिर नगर्नु भनेका छौं,’ उनले भने ।
पशु प्राविधिककै परामर्श अनुसार औषधि खुवाउँदा मरेको भैँसीको पोस्टमार्टम गर्न नपाइएको उनको भनाइ छ । ‘पोस्टमार्टम गर्न पाएको भए मृत्युको कारण प्रष्ट हुन्थ्यो । यो ठाउँमा पोस्टमार्टम सम्भव रहेनछ । तर, पीडितलाई क्षतिपूर्ति दिने गाउँपालिकाको तयारी छ,’ मिरिङचिङले भने ।
प्रतिक्रिया