विराटनगरमा कानुन विपरीत वित्तीय कारोबार, ब्याजमा लोभिन्छन् सर्वसाधारण, सुनचाँदी पसल सञ्चालक पक्राउ

शनिबार, २६ माघ २०८१
विराटनगर : विराटनगरमा सुनचाँदी पसल (ज्वेलर्स)बाट कानुनविपरीत वित्तीय कारोबार भइरहेको पाइएको छ । वित्तीय संस्था तथा बैंकबाट गर्नुपर्ने कारोबार सुनचाँदी पसलबाट ‘पास बुक’ नै राखेर भइरहे पनि नियमन र नियन्त्रणका लागि सम्बन्धित निकायले चासो दिएका छैनन् । वित्तीय कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था छ । सुनचाँदी पसलले यो कारोबार गर्नै पाउँदैनन् । तर, विराटनगरका सुनचाँदी पसलले भने अवैध रूपमा यस्तो कारोबार गरिरहेको पाइएको हो । सुनचाँदीको कारोबार गर्ने अनुमति लिएका पसलहरूले अवैध हिसाबको वित्तीय कारोबार गरिरहेको पाइएपछि विराटनगरमा सुनचाँदी पसल सञ्चालन गर्दै आएका एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–७ मेन रोडमा चाँदनी गहना सो–रूम नाम दिएर सुनचाँदी पसल सञ्चालन गर्दै आएका ३८ वर्षीय पवन श्रेष्ठलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए । विराटनगर–८ घर भएका श्रेष्ठ केही समयदेखि फरार थिए । ‘पास बुक’मार्फत वित्तीय कारोबार गरी सर्वसाधारणको लाखौं रूपैयाँ ठगी गरेर फरार भएका श्रेष्ठलाई माघ २१ गते सुनसरीबाट पक्राउ गरिएको जोशीले बताए । पसल नै बन्द गरेर भागेका श्रेष्ठबाट ठगीमा परेको भन्दै हालसम्म ११ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइसकेका छन् । उनीहरूबाट ८६ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । ‘सर्वसाधारणलाई आकर्षक ब्याजको लोभ देखाएर सुनचाँदी पसलबाटै वित्तीय कारोबार गर्ने गरेको पाइयो । लाखौं रूपैयाँ खाएर पसल सञ्चालक फरार बनेपछि पीडितहरुले जाहेरी दिएका हुन् । खोजतलास गरी पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको छ,’ उनले भने । डीएसपी जोशीका अनुसार श्रेष्ठले एकै व्यक्तिबाट १९ लाख रूपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ । श्रेष्ठबाट ठगीमा परेका पीडितलाई उजुरी गर्न पनि प्रहरीले आग्रह गरेको छ । अनुमति बिना वित्तीय कारोबार गरेका उनीविरूद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी जोशीले जानकारी दिए । श्रेष्ठविरुद्ध पहिलोपटक माघ ३ गते जाहेरी परेको थियो । त्यसपछि अरू पीडितहरूले उनीविरूद्ध जाहेरी दिएका हुन् । प्रहरीका अनुसार सुन पसल देखाएर अवैध हिसाबले वित्तीय कारोबार गरी सर्वसाधारणबाट ठगी गरेको रकम भने श्रेष्ठले घरजग्गा खरिदलगायतका व्यक्तिगत प्रयोजनमा खर्च गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘सर्वसाधारणले अलि धेरै ब्याज पाउने लोभमा सुनचाँदी पसलमा पैसा राख्ने गरेको पाइयो । यो गैरकानुनी हो,’ डीएसपी जोशी भन्छन् । सुनचाँदी पसलबाट अवैध हिसाबले गरिने वित्तीय कारोबार सर्वसाधारणका लागि अति नै जोखिमपूर्ण हुन्छ । ‘बैंक तथा वित्तीय संस्थाबाट कारोबार गर्दा झन्झट हुने भनेर सर्वसाधारणले सुनचाँदी पसल रोज्ने गरेको पाइयो,’ प्रहरी स्रोलते भन्यो, ‘छिटोमिठोका लागि त्यस्तो गर्दा रकम डुबिरहेको हुन्छ ।’ प्रहरीका अनुसार कारोबारका नाममा सर्वसाधारणको पैसा डुबाएर पसल सञ्चालक फरार हुने गरेको कतिपय घटनाबाट पुष्टि भएको छ । ब्याजको लोभमा पैसा जम्मा गर्दा सुरक्षित नहुने भन्दै प्रहरीले सुनचाँदी पसलबाट यस्तो कारोबार भइरहेको पाइएमा गोप्य हिसाबले सूचना दिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार