विराटनगर नाका हुँदै बाहिरिने महिला र बालबालिकाको संख्या उच्च

मंगलबार, २९ माघ २०८१
विराटनगर : विराटनगर नाका हुँदै बाहिरिने महिला तथा बालबालिकाको संख्या उच्च रहेको छ । यो नाकाको प्रयोग महिला तथा बालबालिका भारतलगायत तेस्रो मुलुक जाने गरेका हुन् । मानव बेचबिखन तथा ओसारपसारविरूद्ध काम गर्दै आएको माइती नेपाल मोरङले मंगलबार (आज) विराटनगरमा वार्षिक प्रतिवेदन सार्वजनिक गरेर उक्त जानकारी दिएको हो । विराटनगरको नाका प्रयोग गरेर भारतलगायत तेस्रो मुलुक (बाहिर) जानेको संख्या बढिरहेको प्रतिवेदनमा उल्लेख छ । माइती नेपालले पत्रकार सम्मेलनमार्फत सन् २०२४ को मार्चदेखि २०२५ को फ्रेबुअरीसम्मको प्रतिवेदन सार्वजनिक गरेको हो । एक वर्षको अवधिमा विराटनगरको सीमा नाकाबाट जोखिममा परेका दुई सय दुई जनाको उद्दार गरिएको माइतीले नेपालले जनाएको छ । माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले भारतमा काम गर्न जानेको संख्या धेरै रहेको जानकारी दिए । उनका अनुसार महिलाहरू सबैभन्दा बढी भारत पुग्ने र भारतको बाटो हुँदै तेस्रो मुलुक जाने गरेको पाइएको छ । महिला तथा बालबालिकाहरू साथीहरूको लहलहैमा लागेर घुम्न जाने भन्दै जाने गरेका छन् । यसरी जानेमा उमेर समूह बढी भएका महिलाहरू रहेको संयोजक पोखरेलले बताए । उनका अनुसार सीमा नाकाबाट जानेहरूले सामाजिक सञ्जालको प्रयोग बढी गर्ने गरेको पाइएको छ । सामाजिक सञ्जालको प्रयोग गर्दा दलाल प्रत्यक्ष नहुने र महिला तथा बालिकाहरू एक्लै सीमा पार हुने गरेको संयोजक पोखरेलले बताए । ‘सीमा पार गर्ने समयमा बालिकाहरू एक्लै जाने र भारततर्फ मानिसहरू भेट्ने गरेको पाइएको छ । ‘नेटवर्किङ बिजनेस’ गर्नका लागि भनेर जानेको संख्यासमेत धेरै छ । उमेर पुगेका महिलाहरू तेस्रो मुलुक जानका लागि भिसा लगाउन जाने भन्ने गरेका छन् । भारतको विभिन्न अकेष्ट्रहरूमा नाच्नका लागि जाने गरेको पाइन्छ । यसरी महिला तथा बालिकाहरू लैजानेले भारतीय रुपैयाँ पाँच सयसम्म पाउने गरेको हाम्रो अध्ययनले देखाएको छ,’ उनले भने । उनका अनुसार जोखिममा परेको थाहा पाएर विराटनगरको सीमावर्ती नाकाबाट विभिन्न ३३ जिल्लाका २ सय १ र भारतका १ जनाको उद्धार गरिएको छ । जसमध्ये जनजाति ५२ जना, मधेसी ४८, ब्राह्मण–क्षेत्री ३६ जना, चौधरी र राजवंशी ३६, दलित २८ जना र २ जना मुस्लिम समुदायका रहेको संयोजक पोखरेलले बताए । त्यस्तै, उद्धार गरिएकामध्ये मोरङका ८० जना छन् । जसमा विराटनगर महानगरपालिकाका ९, रतुवामाईका ८, सुन्दरहरैँचाका ७, कटहरीका ६, ग्रामथान, कानेपोखरी, बूढीगंगा र जहदाका ५–५ एवं केराबारी, बेलबारी, रंगेली, सुनवर्षी र पथरीशनिश्चरेका ४–४, धनपालथान र लेटाङका ३–३, उर्लाबारी र मिक्लाजुङका २–२ जना छन् । सुनसरीका ४४, झापाका १५, उदयपुरका ८, सिराहा र सप्तरीका ५–५ जनाको पनि उद्धार गरिएको छ । उद्धार गरिएकामा खोटाङ, धनकुटा, तेह्रथुम, इलाम, सिन्धुपाल्चोक, भोजपुर, पाँचथर, संखुवासभा, सर्लाही, सल्यान, दोलखाका समेत छन् । उद्धार गरिएकामध्ये १ जना भारतको दार्जिलिङका रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । विदेशबाट तीन जनालाई उद्दार गरेर ल्याइएको छ भने ३४ वटा हराएका छन् । हराएकामध्ये ७ जना फेला परेका छन् । ४८ वटा घरेलु हिंसाको निवेदन माइती नेपालमा परेको छ । सीमा नाकाबाट उद्दार गरिएकामध्ये १८ वर्षमाथिका १ सय ५१ जना छन् भने १८ वर्ष मुनिका ५१ जना रहेको संयोजक पोखरेले बताए । माइती नेपालकी मनोपरामर्शकर्ता गीताञ्जली शर्माले वडा, विभिन्न बाल क्लब, यातायात व्यवसायी, रिक्सा र सीटी सफारी चलाकलगायतसँग समन्वय गरेर मानव बेचबिखनविरुद्ध सचेतनामूलक कार्यक्रम गर्ने गरिएको बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार