इलाम : सूर्योदय नगरपालिकाले दोस्रो देउमाई गोल्ड कपको उपाधि आफ्नो नाममा लेखाएको छ। शनिबार सम्पन्न फाइनल खेलमा इलाम नगरपालिकालाई टाइब्रेकरमा पराजित गर्दै सूर्योदयले उपाधि उचालेको हो।
निर्धारित समयसम्म दुबै टोलीले १-१ गोल गरेपछि खेलको नतिजा टाइब्रेकरमार्फत टुंग्याइएको थियो।
टाइब्रेकरमा दुवै टोलीका पाँच-पाँच खेलाडीले प्रहार गरेका थिए। सूर्योदयका सबै प्रहार गोलमा परिणत हुँदा इलाम नगरपालिकाको एक प्रहार रोकिन पुग्यो। नतिजास्वरूप इलाम नगरपालिकाले उपविजेतामा चित्त बुझायो।
विजेता सूर्योदय नगरपालिकाले ट्रफीसहित नगद २ लाख ५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता इलाम नगरपालिकाले १ लाख ५ हजार रुपैयाँ प्राप्त गर्यो।
पुरस्कारहरू देउमाई नगरपालिकाकी उपप्रमुख पविमाया राईलगायत अतिथिहरूले प्रदान गरेका थिए।
प्रतिक्रिया