ललितपुर : विश्व प्रोटिन दिवस २०२५ को अवसरमा नेपाल दाना उद्योग संघको आयोजनामा “मानव स्वास्थ्यमा प्रोटिनको भूमिका” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।
ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा सन्तुलित पोषणको आवश्यकता र प्रोटिनयुक्त आहारको महत्त्वबारे प्रकाश पारे। उनले स्वास्थ्य क्षेत्रमा पोषणसम्बन्धी जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उल्लेख गरे।
नेपाल फिड इन्डस्ट्रीज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधि व्यवसायी संघ नेपाल तथा युसेक को सहकार्यमा आयोजित कार्यक्रममा दुईवटा कार्यपत्र प्रस्तुत गरिएको थियो।
डा. अशेष भट्टराईले नेपालको कुखुरा उद्योगले प्रोटिन अभाव हटाउन पुर्याएको योगदानबारे जानकारी गराएका थिए भने डाइटिसियन रश्मि बजिमाया श्रेष्ठ ले मानव स्वास्थ्यमा प्रोटिनको भूमिकाबारे कार्यपत्र प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा आयोजित प्यानल छलफललाई संयुक्त राष्ट्रसंघ अन्तर्गत खाद्य तथा कृषि संगठन का इक्कट्याड टिम लिड डा. सुरेन्द्र कार्कीले संयोजन गरेका थिए। छलफलमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कुमार कर्ण, पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाललगायतका विज्ञहरूले सहभागिता जनाएका थिए।
नेपाल फिड इन्डस्ट्रीज एसोसिएसनका अध्यक्ष रोबिन पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष नारायणहरी खत्रीले समापन मन्तव्य दिएका थिए।
आयोजक संस्थाहरूका अनुसार यस कार्यक्रमले नेपालमा प्रोटिनयुक्त आहारको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्दै सन्तुलित पोषणलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिएको छ।
प्रतिक्रिया