काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको टाइटल स्पोन्सर एनसेल बन्ने भएको छ । नेपाल स्पोर्टस एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) ले सुपर लिगको तेस्रो संस्करण २०२५ का लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरमा अनुबन्ध गरेको हो ।
नेपाल सुपर लिग पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो। शुक्रबार ललितपुरको द प्लाजा होटलमा आयोजित विशेष समारोहमा एनसेल र एनएसईएमबीच साझेदारी घोषणा भएको छ ।
सम्झौतामा एनएसईएका अध्यक्ष आश्रेता चौधरी र एनसेलका चिफ कमर्सियल अफिसर उमैर मोहसिनले हस्ताक्षर गरेका छन् । यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको प्रवर्द्धन गर्दै नेपाली फुटवलप्रेमीहरूको मनपर्ने खेललाई अझ बलियो बनाउन सहयोग गर्ने बताएको छ। साथै यसले नेपालका उदयीमान खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च प्रदान गर्ने लक्ष्य राखेको छ।
नेपाल र नेपाली उपभोक्ताहरूलाई एक आपसमा जोड्ने एनसेलको मूल दर्शन नेपाली फुटबलप्रतिको भावना र जोशसँग पनि मेल खाने कम्पनीको भनाइ छ ।
सन् २०२१ मा स्थापना भएको नेपाल सुपर लिगलाई एनएसईएमले अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजना गर्दै आएको छ। थुप्रै क्षेत्रीय फ्रेन्चाइज टोलीहरूको प्रतिनिधित्व गर्दै यो लिगले नेपालभर फुटबलप्रति व्यापक चासो र सहभागिता बढाइरहेको छ। यसले क्षेत्रीय पहिचान प्रवर्द्धन गर्दै एकता र गौरवको भावनालाई अझ बलियाप बनाएको छ।
नेपाल सुपर लिगको आधिकारिक खेल २९ मार्च २०२५ बाट सुरू हुनेछ। यस प्रतियोगितामा बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, एफसी चितवन, झापा एफसी, काठमाडौं रेजर्स एफसी, ललितपुर सिटी एफसी र पोखरा थन्डर्स एफसी सहित सात टिमहरूबीच कडा प्रतिस्पर्धा हुनेछ।
देशभरका फुटबल प्रेमीहरूका लागि यो उत्साहजनक र रोमाञ्चक क्षण हुनेछ जहाँ विभिन्न टिमहरू उपाधी जित्नको लागि प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया