वैदेशिक अध्ययनमा विदेशियो ६४ अर्ब १५ करोड

मंगलबार, २७ फागुन २०८१
काठमाडौं : चालु आर्थिक वर्षको सात महिनामा उच्च शिक्षाका लागि विदेशी मुलुक जानेहरुले ठूलो धनराशी विदेश लगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ बराबर पुगेको छ । सेवा खाताअन्तर्गत भ्रमण व्यय १० दशमलव छ प्रतिशतले वृद्धि भई एक खर्ब १५ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय ६४ अर्ब १५ करोड रुपैयाँ रहेको हो । बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब चार अर्ब ७५ करोड रुपैयाँ रहेकामा शिक्षातर्फको व्यय ६६ अर्ब ६४ करोड रुपैयाँ थियो । यस अवधिमा खुद सेवा आय ५० अर्ब २२ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३६ अर्ब ३८ करोड रुपैयाँले घाटामा थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय सात दशमलव सात प्रतिशतले वृद्धि भई ४९ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४५ अर्ब ६८ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार