काठमाडौं : पछिल्लो समयमा काठमाडौं उपत्यकासहित विभिन्न सहरी क्षेत्रमा वायु प्रदूषण खराब स्तरमा पुगेको छ । वातावरण विभागका अनुसार काठमाडौंको प्रदूषण निकै अस्वस्थकर तहमा पुगेको छ ।
दुई दिनदेखि काठमाडौं उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पहिलो स्थानमा रहेको छ । सोमबार र मंगलबार लगातार संसारकै प्रदूषित सहर बनेको थियो ।
बुधबार झन् वायु प्रदूषण बढेको छ । यद्यपि, यस दिन काठमाडौंभन्दा धेरै प्रदूषित हावा भारतको दिल्लीमा छ । काठमाडौं दोस्रो प्रदूषित सहर बनेको छ ।
काठमाडौंको एयर क्वालिटी इन्डेक्स १८ चैत मा २३९ पुगेको थियो । मंगलबार बढेर सो इन्डेक्स २५६ पुग्यो । एअर क्वालिटी इन्डेक्सअनुसार उपत्यकाको हावा अति अस्वस्थ छ । प्रदूषित सहरहरूमा दोस्रो स्थानमा भारतको दिल्ली, तेस्रो स्थानमा थाइल्यान्डको चियाङ माई र चौथोमा बंगलादेशको ढाका रहेको छ ।
पछिल्लो एक सातादेखि काठमाडौंलगायत देशका मुख्य सहरमा हावा प्रदूषण बढेको छ । यसको मुख्य कारण उद्योग, कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, डढेलो, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउने, घरबाट निस्कने धुवाँ, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धूलो आदि भएको वातावरण विभागले जनाएको छ ।
प्रदूषण बढेपछि विभागले सूचना जारी गर्दै विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वासमा समस्या भएका व्यक्तिहरू, मुटुका बिरामी, गर्भवतीलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।
यसका साथै प्रदूषण नियन्त्रणका लागि ठोस तथा प्लास्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मत सम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट हुने धुवाँ धूलोको यथोचित नियन्त्रण गर्न विभागले अपिल गरेको छ ।
उपत्यकाका तीन जिल्लामध्ये भक्तपुर बढी प्रदूषित रहेको देखिएको छ । भक्तपुरको बालकोट, सूर्यविनायक, मध्यपुर ठिमी, सल्लाघारी, चाँगुनारायण, ताथली क्षेत्रको एक्यूआई बढी छ । काठमाडौंको नागार्जुन क्षेत्रको बोहराटारमा सबैभन्दा बढी एक्यूआई २८५ रहेको छ । यस्तै, ललितपुरको भैंसेपाटी जावलाखेल क्षेत्र पनि बढी प्रदूषित छन् ।
हावामा पीएम २ दशमलव ५ को मात्रा प्रतिघनमिटर ५० भन्दा तल भएको हावालाई स्वस्थकर मानिन्छ । ५० देखि १०० सम्मको स्थितिलाई सामान्य प्रदूषण मानिन्छ ।
पीएम २ दशमलव ५ को मात्रा प्रतिघनमिटर १०० देखि १ सय ५० सम्म भएमा बालबालिका, रोगीलगायत समूहका लागि अस्वस्थकर मानिन्छ । हावामा पीएम २ दशमलव ५ को मात्रा १ सय ५० देखि २०० पुगेमा सबै समूहका लागि अस्वस्थकर र २०० भन्दा बढी भएमा अत्यन्तै अस्वस्थकर मानिन्छ ।
विश्व स्वास्थ्य संगठनले हावामा आँखाले नदेखिने धूलोका कण (पीएम २ दशमलव ५)को मात्रा वार्षिक औसत ५ माइक्रोग्राम घनमिटरभन्दा बढी हुन नहुने मापदण्ड तय गरेको छ ।
यसअनुसार नेपालको हावा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा झन्डै साढे आठगुणा बढी प्रदूषित देखिएको छ । यस्तो प्रदूषित हावा स्वास्थ्यका लागि निकै जोखिमपूर्ण मानिन्छ । सन् २०१९ को एउटा तथ्यांकले नेपालमा वायु प्रदूषणसम्बन्धी रोगका कारण बर्सेनि ४२ हजार जनाको ज्यान गइरहेको देखाएको थियो ।
हिउँदमा नेपालमा वायु प्रदूषण निकै खराब स्थितिमा ओर्लिन्छ । सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणका अतिरिक्त इँटाभट्टा र उद्योगको प्रदूषणमा हावाले भारतबाट समेत प्रदूषण सोहरेर ल्याएपछि श्वासै फेर्न मुस्किल पर्ने स्थिति निम्तिन्छ । अझ नेपालका वनजंगलमा डढेलो सल्किन थालेपछि वायु प्रदूषणको स्थिति थप खराब हुन पुग्छ ।
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा अध्ययन गरेर १ वर्षपछि सन् २०२० मा प्रकाशित गरेको एउटा अध्ययनले नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोगलाई देखाएको छ । त्यसमध्ये पहिलो स्थानमा मुटु तथा रक्तनलीसम्बन्धी रोग र दोस्रोमा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग पर्छन् ।
त्यस प्रतिवेदनमा भनिएको छ, ‘हृदयरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग ‘सीओपीडी’ र क्यान्सरजन्य रोगहरू पुरुष र महिला दुवैमा मृत्युका शीर्ष तीन प्रमुख कारण रहेका छन् ।’
मानवीय क्षति र त्यसले निम्त्याउने आर्थिक सामाजिक नोक्सानी कम गर्ने उपाय रहेको तर त्यसका लागि स्वच्छ वायु अनिवार्य रहेको जनाइएको छ ।
‘आर्थिक रूपमा स्वच्छ वायुको विकल्प प्राप्त गर्न सकिन्छ तर त्यसका लागि यस क्षेत्रका मुलुकले नीतिगत र लगानीका क्षेत्रमा सहकार्य गर्नुपर्छ,’ विश्व बैंकको प्रतिवेदनमा भनिएको छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालले वायु प्रदूषण घटाउनसके तराईका बासिन्दाले ५ दशमलव २६ वर्ष बढी बाँच्न पाउनेछन् भने काठमाडौंवासीले सरदरमा २ दशमलव ५८ वर्ष बढी जीवन पाउनेछन् ।
जनघनत्व अत्यधिक भएका दक्षिण एसियाका सहर, त्यसमा पनि गरिबको बसोबास रहेको क्षेत्रको वायुमण्डलमा मसिना धूलोका कण (पीएम २ दशमलव ५) विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड (५ माइक्रोग्राम प्रतिघनमिटर) भन्दा २० गुणासम्म बढी रहेको पाइएको छ ।
उपत्यकामा गाडीको धुवाँबाट ३८ प्रतिशत र सडकको धूलोबाट २५ प्रतिशत प्रदूषण फैलने गरेको छ । त्यसैगरी, फोहोर तथा कृषिजन्य अवशेष बाल्दा १९ प्रतिशत, इँटाभट्टाबाट ११ प्रतिशत र अन्यबाट ७ प्रतिशत प्रदूषण हुने अध्ययनले देखाएको छ ।
आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया