काठमाडौँ : नेपालीहरूको महान् चाड विजया दशमी (दशैं) को अवसरमा काठमाडौँ उपत्यकामा सवारी सुरक्षाका लागि विशेष योजना लागू गरिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले दशैंको चाप र सम्भावित जोखिमलाई ध्यानमा राख्दै व्यापक ट्राफिक तथा सुरक्षा योजना तयार गरिएको जानकारी दिए।
नेपाल न्यूज बैङ्कसँग विशेष कुराकानी गर्दै एसपी सुवेदीले दशैंका बेला सवारी व्यवस्थापन र नागरिक सुरक्षा सुनिश्चित गर्न १४ वटा प्रमुख स्थानमा नागरिक सहायता कक्ष स्थापना गरिएको बताए। उनले भने, “यात्रुहरूले गुनासो वा सूचना दिनुपरेमा ती सहायता कक्षबाट तत्काल सेवा प्रवाह गरिनेछ।”
सहायता कक्षले यात्रुहरूलाई आवश्यक सूचना प्रदान गर्ने, ट्राफिक सचेतना अभिवृद्धि गर्ने र आकस्मिक समस्याको तत्काल समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताए।
दशैंको समयमा सवारी चाप वृद्धि हुने भएकाले राजधानी क्षेत्रलाई दुई समूह– ‘क’ र ‘ख’– मा विभाजन गरिएको छ। समूह ‘क’ अन्तर्गत २३ युनिट र समूह ‘ख’ अन्तर्गत २४ युनिट ट्राफिक प्रहरी परिचालित छन्। एसपी सुवेदीका अनुसार, “हाम्रो उद्देश्य सजाय होइन, सचेतना अभिवृद्धि हो। यात्रामा कसैले गल्ती गरेमा दण्डित गर्नुभन्दा सुधारको अवसर दिन चाहन्छौँ।”
चाडपर्वमा मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति बढ्ने भएकाले रातको समयमा विशेष निगरानीका लागि पाँच समूहमा विभाजन गरिएको छ। समूह ‘क’, ‘ख’, ‘ग’, ‘घ’ र ‘ङ’ अन्तर्गत क्रमशः १४, १४, १५, १४ र १२ युनिट गरी कुल ६९ युनिट परिचालित छन्। रातको समयमा सम्भावित दुर्घटना र अनुशासनहीन सवारी गतिविधि रोक्न यी युनिटहरू निरन्तर गस्तीमा रहनेछन्।
२५० किलोमिटरभन्दा बढी दूरीका सवारी साधनमा दुई चालक अनिवार्य गरिएको छ। ट्राफिक कम्युनिकेसन एपमार्फत चालक सङ्ख्या, क्षमताभन्दा बढी यात्रु राखिएको वा बढी भाडा लिएको जस्ता गतिविधिमा निगरानी राखिने एसपी सुवेदीले बताए।
बसपार्क, नाका, सुपर मार्केट र सपिङ मलजस्ता स्थानहरूमा ट्राफिक प्रहरी र सिभिल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। उनले भने, “नागरिकलाई सुरक्षा प्रत्याभूति दिन हामी संयुक्त रूपमा खटिएका छौँ र उच्च मनोबलका साथ फिल्डमा छौँ।”
सवारी चेकिङमा प्रविधिको प्रयोग बढाइएको उनले बताए। लागूपदार्थ वा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकहरूलाई पहिचान गर्न विशेष उपकरण र प्रविधि प्रयोग भइरहेको छ।
हालैका जेनजी आन्दोलनका कारण केही कार्यालयहरू क्षतिग्रस्त भए पनि सेवा प्रवाह प्रभावित नभएको एसपी सुवेदीले बताए। “कुनै पनि प्रहरी कर्मचारीले मनोबल गुमाएका छैनन्। युनिफर्म र आवश्यक सामग्री सबैमा पुगेको छ र हामी युनिफर्ममै सेवा दिइरहेका छौँ।”
एसपी सुवेदीले सवारी वा समाजमा असामाजिक गतिविधि देखिएमा १०० वा १०३ मा फोन गरी नजिकको प्रहरीलाई जानकारी दिन नागरिकहरूलाई अनुरोध गरे। साथै, लामो दूरी यात्रा गर्नुअघि सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न सुझाव दिए।
ट्राफिक प्रहरीको यो विस्तृत योजना दशैंमा नागरिक सुरक्षाका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ। एसपी सुवेदी भन्छन्, “हामी नागरिकका आँगनमै सेवा दिन तयार छौँ। सूचना दिनुहोस्, सेवा हाम्रो तर्फबाट सुनिश्चित हुनेछ।”
– नरेशराज सुवेदी, प्रहरी उपरीक्षक (एसपी), काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय
प्रतिक्रिया