भीषण वर्षा खतरा! : बीपी राजमार्गमा राति ६ दिनसम्म आवागमन रोक

विहीबार, १६ असोज २०८२
file pic

काभ्रेपलाञ्चोक : लगातारको भारी वर्षा र बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले बीपी राजमार्गको एक खण्डमा रात्रिकालीन सवारी आवागमनमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय (जिप्रका) काभ्रेले बिहीबार (असोज १६) बिहान जारी गरेको सूचनाअनुसार असोज १६ गतेदेखि असोज २१ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा एम्बुलेन्स तथा अत्यावश्यक सेवाबाहेक अन्य सबै सार्वजनिक र निजी सवारी साधनको आवागमनमा निषेध गरिएको हो ।

यो प्रतिबन्ध बीपी राजमार्गको काभ्रे भन्ज्याङ–भकुण्डेवेशी–सिन्धुली सडक खण्डमा लागू हुने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बाढी–पहिरोको जोखिमलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । उनले जिल्लावासी र सम्बन्धित निकायलाई पूर्वतयारसहित सतर्क रहन आग्रह गर्दै अनावश्यक यात्रा नगर्न चेतावनी दिएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमानअनुसार असोज १७ गतेदेखि २० गतेसम्म काभ्रेपलान्चोकमा भारी वर्षा हुने सम्भावना छ । यही आधारमा प्रशासनले थप सतर्कता अपनाउन निर्देशन दिएको हो ।

यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रशासनले रोशी खोला र अन्य स्थानीय खोलामा बाढी आएमा अन्य समयमा पनि स्थानीय प्रहरी तथा ट्राफिक प्रहरीले सवारी साधन रोक्न सक्ने व्यवस्था मिलाइएको जनाएको छ ।

त्यसैगरी, पहिरोको उच्च जोखिममा रहेका बस्तीहरू तथा नदी किनारका क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि प्रशासनले सबैलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार