बँदेल मार्ने पासोमा करेन्ट लागेर मृत्यु ,शव लुकाउने ३ जना पक्राउ

विहीबार, २१ चैत्र २०८१
रौतहट : रौतहट स्थित जङ्गली बँदेल मार्न राखिएको विद्युतीय पासोमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ। मृतक महिलाको शव लुकाएको अभियोगमा  ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको उत्तर पूर्वी भेग वृन्दावन नगरपालिका  १ बलेरी गाउँ छेउमा जङ्गली बँदेल मार्न  राखेको विद्युतीय पासोमा करेन्ट लागेर महिलाको मृत्यु भएपछि मृतक महिलाको शव लुकाउने ३ जनालाई  प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको नेतृत्वमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, गरुडा सहितको प्रहरी टोलीले घटनाको अनुसन्धान गर्दै मृतक महिलाको शव बिहीबार अपराह्न बरामद गर्नुका साथै संलग्न ३ जना लाई पक्राउ गरेको हो। गाउँकै केही मानिसले जङ्गली बँदेल मार्न मकै बारीमा थापेको जे आइ विद्युतीय तारको पासोमा करेन्ट लागेर स्थानीय रूपनारायण राउतको श्रीमती ५५ वर्षीया देवी पटेलको एक साता अघि मृत्यु भएको अनुमान गरिएको छ। करेन्ट लागेर महिलाको मृत्यु भएपछि पासो थाप्नेहरूले घटना लुकाउन नजिकै जङ्गलमा खाल्डो खनी शव पुरेका थिए। घटना पछि महिला बेपत्ता भएको पीडित परिवारमार्फत  जानकारी भएपछि इलाका प्रहरी कार्यालय गरुडाको टोलीले अनुसन्धान थालेको थियो । डिएसपी राजन कार्कीका अनुसार गत १४ गते देखि महिला बेपत्ता भए पनि प्रहरीमा १९ गते जानकारी आएको थियो। अनुसन्धानको क्रममा मृतक महिलाको शव बिहीबार अपराह्न जङ्गलमा गाडिएको अवस्थामा बरामद भएको छ। साथै, घटनामा संलग्न रहेको आशङ्कामा ३ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरू इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका छन्। मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको डिएसपी कार्कीले न्युज कारखाना लाई जानकारी दिएका छन्। एक साता देखी गाडिएको मृतक महिलाको शव कुहिन सुरु भएको छ। अनुसन्धान पछि घटना बारे पूर्ण जानकारी आउने इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार