इलाम । इलाम जिल्लामा वर्षौंदेखि भूमिसम्बन्धी समस्यामा परेका भूमिहीनलाई लालपुर्जा दिने प्रक्रिया सुरु गरिएको छ। भूमि समस्या समाधान आयोग, इलामका अध्यक्ष प्रकाश अधिकारीका अनुसार जिल्लाका विभिन्न पालिकाबाट आएका निवेदनको अध्ययन र प्रमाणिकरणपछि लालपुर्जा वितरणको काम अघि बढाइएको हो।
अहिले चुलाचुली गाउँपालिकामा ३२ वटा लालपुर्जा वितरणको तयारी छ भने चुलाचुली–५ का ९४ वटा निवेदन प्रमाणिकरण भइसकेका छन्। यस्तै, रोङ–१ मा २१२ मध्ये १५० कित्ताको लालपुर्जा बनाउने निर्णय भइसकेको छ र सम्बन्धित कित्ताहरुको राजस्व मूल्य निर्धारण गरी भोलिदेखि १५ दिने सूचना प्रकाशित गरिनेछ।
त्यस्तै माङ्सेबुङ–६ मा ११० वटा र माई–४ मा १५२ कित्ताको दाबी विरोधको सूचना प्रकाशित गर्ने निर्णय भएको छ। सूर्योदय नगरपालिका–९ का २३ निवेदनको प्रमाणिकरणको तयारी भइरहेको छ।
यी पाँच पालिकामा अहिले ३० जना प्राविधिक फिल्डमा खटिएका छन्। यो आर्थिक वर्षभित्र प्रमाणिकरण सकिएका निवेदनको लालपुर्जा वितरण गर्ने लक्ष्य आयोगले लिएको छ। माङ्सेबुङ गाउँपालिकामा केही भूमिहीनलाई निस्सा समेत प्रदान गरिएको छ।
तर, इलाम नगरपालिका, देउमाई नगरपालिका, फाकफोकथुम गाउँपालिका, माईजोगमाई गाउँपालिका र सन्दकपुर गाउँपालिकाले भने वडास्तरमा निवेदन संकलन बाहेक ठोस प्रगति गरेका छैनन्।
हालसम्म जिल्लामा ११६ जना भूमिहीन दलित, ४९० भूमिहीन सुकुम्बासी र १३ हजार ४८६ जना अव्यवस्थित बसोबासीको निवेदन दर्ता भएको छ। माई नगरपालिकामा मात्रै २८ दलित, ८८ सुकुम्बासी र ७३६६ अव्यवस्थित बसोबासीका निवेदन छन्। माङ्सेबुङमा २४ दलित, २३० सुकुम्बासी र २३०८ अव्यवस्थित बसोबासी रहेका छन्। रोङमा ४ दलित, ६५ सुकुम्बासी र १७९१ अव्यवस्थित बसोबासी तथा सूर्योदय नगरपालिकामा ६० दलित, १०७ सुकुम्बासी र १९६५ अव्यवस्थित बसोबासीको विवरण दर्ता भएको छ।
प्रतिक्रिया