विराटनगर — कोशी प्रदेशका सांसदहरूले विपद्पछिको पुनःनिर्माण र मर्मत–सम्भारमा प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै गुनासो गरेका छन्। बुधबार बसेको कोशी प्रदेशसभाको शून्य समयमा सांसदहरूले पीडित क्षेत्रको अवस्थाप्रति प्रदेश सरकार उदासीन देखिएको आरोप लगाए।
इलामकी सांसद खिनु लङ्वाले मयुँ खोलाको पुल भत्किएपछि तीन वटा पालिकामा आवागमनमा ठूलो अवरोध आएको बताउँदै तत्काल मर्मत गरी यातायात सुचारु गर्न आग्रह गरिन्। उनले विपद् व्यवस्थापनका लागि छुट्याइएको कोषसमेत प्रयोग नभएको भन्दै जनजीवन प्रभावित भइरहेको उल्लेख गरिन्।
उनको भनाइमा, सन्दकपुर क्षेत्र अघिल्लो विपद्का बेला संकटग्रस्त घोषणा गरिए पनि हालसम्म आवश्यक बजेट विनियोजन नभएकाले संरचनाहरूको पुनःनिर्माण रोकिएको छ।
त्यस्तै, उदयपुरकी सांसद सम्झना तामाङ थाम्सोहाङले २०८१ असोज १२ गते आएको बाढीबाट प्रभावित जनताका समस्या अझै समाधान नभएको बताउँदै सरकारको उदासीनताप्रति आक्रोश व्यक्त गरिन्।
उनका अनुसार बाढीले क्षति पुर्याएका विद्यालयहरू अझै मर्मत हुन नसक्दा पठनपाठनमा गम्भीर असर परेको छ। “मैले समाजिक विकास मन्त्रीलाई १० पटक भेटेर विद्यालय मर्मतको माग गरेँ,” उनले भनिन्, “तर पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन।”
सांसदहरूले सरकारसँग विपद् व्यवस्थापन र पुनःनिर्माणमा गम्भीर ध्यान दिन माग गरेका छन्।
प्रतिक्रिया