दुर्गा प्रसाईंसहित ५३ जनालाई थप दुई दिन थुनामा राख्न अनुमति

विहीबार, ०८ जेठ २०८२

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंलगायत ५३ जनालाई थुनामा राखेर अनुसन्धान गर्न थप दुई दिनको म्याद दिएको छ। प्रहरीले अनुसन्धान सकिए पनि उनीहरूको अनुसन्धान प्रतिवेदनमा केही हेरफेर गर्नुपर्ने भन्दै म्याद थपका लागि बिहीबार अदालत पेस गरेको थियो ।

सोहीअनुसार अदालतले दुई दिनको म्याद दिएको काठमाडौंका प्रहरी प्रमुख (एसएसपी) विश्व अधिकारीले जानकारी दिए । उनीहरूमाथि प्रहरीले थुनामा राखेर अनुसन्धान गरेको ५५ दिन पूरा भएको छ । संगठित मुद्दामा अनुसन्धान भएका कारण उनीहरूविरुद्धको मुद्दा ६० दिनभित्र जिल्ला अदालतमा दर्ता गर्नुपर्ने कानुनी व्यवस्था छ । प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ ।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेपछि दुईजनाको ज्यान गएको थियो भने आगजनी र लुटपाटका घटना भएका थिए । प्रहरीले सोही दिनदेखि केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले बताए। उनीहरूलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राज्यविरुद्धको कसुरमा २८ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

१५ चैतको दिन प्रसाईंले निषेधित क्षेत्रतर्फ आफैंले मोटर कुदाएर गएका थिए । प्रहरीले त्यसपछि भिड अनियन्त्रित बनेको बताउने गरेको छ । प्रसाईं भने सोही दिन काठमाडौंबाट भागेर भारत पुगेका थिए । पछि प्रहरीले उनलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । यस तीनकुने घटनामा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री एवं सांसद धवलशम्शेर राणासहित ३७ जना हाजिर जमानीमा छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार