पोखरा : सहकारी ठगी आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई जिल्ला अदालत कास्कीले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
अदालतका सूचना अधिकारी दामोदर आचार्यका अनुसार न्यायाधीश कृष्णजंग शाहको इजलासले उक्त आदेश दिएको हो। तर धरौटी रकम बुझाउन नसकेपछि उनलाई बागलुङ कारागार चलान गरिएको छ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका तत्कालीन उपाध्यक्ष रहेका बेला नेपालीको खातामा गैरकानुनी रूपमा ७७ लाख ५० हजार रुपैयाँ जम्मा भएको अनुसन्धानबाट खुलेको हो।
सहकारी ऐनविपरीत लगिएको सो रकम फिर्ता नगरेको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालयले उनलाई प्रतिवादी बनाई मुद्दा दायर गरेको थियो।
पूर्वअध्यक्ष जीबी राईसँगको विवादपछि नेपालीले सूर्यदर्शन सहकारी परित्याग गरी पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’ स्थापना गरेका थिए।
एमालेबाट मेयर निर्वाचित भएका नेपालीमाथि यी दुई सहकारीमार्फत झण्डै २ अर्ब रुपैयाँ ठगी गरेको गम्भीर आरोप लागेको छ। यस प्रकरणले सयौं बचतकर्ता प्रभावित बनेका छन्।
अभियोग लागेपछि १६ महिनासम्म फरार रहेका नेपालीलाई नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरी असोज ११ गते नेपाल ल्याएको थियो।
प्रतिक्रिया