झापा : झापाको मेचीनगर नगरपालिका–१०, खयर डाँगीमा लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर–१० बस्ने ३३ वर्षीय मोहन चौधरी र मेचीनगर–१५ बस्ने ३४ वर्षीय डिपलेस मेचेल रहेका छन्।
इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले सोमबार साँझ ५ बजेतिर उनीहरूलाई शङ्का लागी जाँच गर्दा मोहन चौधरीको मलद्वारमा लुकाइएको अवस्थामा ब्राउन सुगर जस्तो देखिने खैरो लेसिलो पदार्थ फेला पारेको हो।
बरामद पदार्थ प्लास्टिकसहित ६.१५० ग्राम र प्लास्टिक बाहेक ५.१७० ग्राम रहेको प्रहरीले जनाएको छ।
प्रहरीले लागू औषधसहित उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ। साथै, उनीहरूले प्रयोग गरेको मे.९प.३९४९ नम्बरको स्कुटर र स्मार्टफोन समेत बरामद गरिएको छ।
प्रतिक्रिया