काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले भिजिट भिसामा विदेश जाने व्यक्तिहरू श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वा त्यसअन्तर्गतका विभागसँग सम्बन्धित नरहेको प्रष्ट पारेका छन्।
शुक्रवार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने,"भिजिट भिसा लिएर जानेहरूसँग हाम्रो मन्त्रालय र विभागहरूको कुनै पनि सरोकार छैन। त्यो विषय अध्यागमनको क्षेत्राधिकारभित्र पर्छ।"
उनले स्पष्ट गरे कि मन्त्रालयको भूमिका केवल श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेहरूका हकमा मात्र सिमित हुन्छ।
महानिर्देशक भट्टराईले विभागले अहिले श्रम स्वीकृति प्रक्रियालाई छरितो र प्रभावकारी बनाउँदै अगाडि बढेको जानकारी पनि दिए।
"अब श्रमिकले आवेदन दिएको दिनमै श्रम स्वीकृति दिने व्यवस्था गरेका छौँ। यसले विचौलियाको चेन नै तोड्नेछ," उनले भने।
कोरिया जाने भिसासम्बन्धी प्रसंगमा उनले इ–९ र इ–७ भिसा फरक फरक प्रकृतिका भएको जानकारी गराउँदै कामदारहरूले भ्रम नपाल्न आग्रह गरे।
"इ–९ भिसा कोरियाको श्रम मन्त्रालयबाट र इ–७ भिसा न्याय मन्त्रालयबाट जारी हुन्छ। दुबै वैध छन् र यसले कोरियामा जान चाहनेहरूको अवसर अझ बढाउनेछ," उनले उल्लेख गरे।
भट्टराईले वैदेशिक रोजगार प्रणालीलाई थप व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने दिशामा विभागले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे। सुधारका प्रयासहरू जनताले छिटै अनुभूति गर्ने पनि उनको विश्वास छ।
प्रतिक्रिया