काठमाडौं : अमेरिका पठाइदिने प्रलोभन देखाएर एकै व्यक्तिसँग ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा रुकुमपश्चिम त्रिवेणी गाउँपालिका–४ का ३० वर्षीय शक्ति खड्का पक्राउ परेका छन्।
काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका खड्कालाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।
खड्काले लाखौं तलब पाइने भन्दै वैदेशिक रोजगारीको झुटो आश्वासन दिएर पीडितसँग ५५ लाख रुपैयाँ लिएको र त्यसपछि सम्पर्कविहीन बनेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीडितको उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो।
पक्राउ परेका खड्कालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया