विराटनगर । कोशी प्रदेशमा साढे ३ हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको लागूऔषध गाँजा प्रहरीले फँडानी गरेर नष्ट गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी ऋषिराम कँडेलका अनुसार धनकुटा, उदयपुर, भोजपुर, खोटाङलगायतका जिल्लामा ३ हजार ५ सय ५४ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको हो ।
हरियो गाँजा फँडानी गर्ने र बोट नष्ट गर्ने क्रमलाई तीव्र पारिएको उनको भनाइ छ । लागूऔषध गाँजा फाँड्न व्यस्त रहेको प्रहरीले चालु आर्थिक वर्षको हालसम्म गाँजाको १८ लाख ३० हजार ८ सय ४५ बोट नष्ट गरिसकेको छ ।
गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ७ सय ६४ रोपनी क्षेत्रफलमा लगाइएको ६ लाख ७५ हजार ३ सय १४ बोट गाँजा प्रहरीले नष्ट गरेको थियो । त्यसको तुलनामा चालु वर्षको हालसम्म तीन गुणा बढी बोट नष्ट गरिएको हो ।
कानुनले प्रतिबन्ध लगाएको गाँजाको खेती कोशीका पहाडी जिल्लामा धेरै हुन्छ ।
गाँजा उत्पादनका लागि पूर्वी पहाडी जिल्लामा उपयुक्त हावापानी रहेको बताइन्छ । प्राय गरेर गाँजा जेठ–असारतिर लगाउने गरिन्छ । भदौदेखि प्रहरीले विशेष अभियान चलाएर गाँजा फाँड्न सुरु गरेको हो । कानुनले गाँजाको उत्पादन, सेवन, किनबेच, भण्डारण र ओसारपसारमा पूर्णरूपले प्रतिबन्ध लगाएको छ ।
प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले गाँजा फँडानी विशेष अभियान संचालन गरेका छन् ।
गाँजा फँडानी तीव्र पार्न उनले प्रदेश प्रहरी कार्यालयबाट थप मद्धतका लागि जिल्ला–जिल्लामा टोलीसमेत खटाएका थिए । गाँजा फाँड्न प्रदेशभरि २ हजार ३५ प्रहरी परिचालन गरिएको थियो । डीआईजी बास्तोलाले प्रदेश प्रहरी कार्यालयबाट थप मद्धतका लागि ४ सय जना खटाइएका थिए ।
धनकुटामा सबैभन्दा धेरै १ हजार ९ सय ९० रोपनी क्षेत्रफलमा लगाइएको ८ लाख ८५ हजार ८ सय बोट गाँजा नष्ट गरिएको छ । धनकुटा प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाले गाँजा फँडानीका लागि अलग्गै टोली खटाएका छन् । उनका अनुसार गाँजा नष्ट गर्न जिल्लाभर ८ सय ४७ प्रहरी परिचालन गरिएको थियो ।
एसपी कोइरालाले फँडानी गर्दै गाँजाको हरियो बोट आगो लगाएर नष्ट गर्ने गरिएको बताए ।
प्रदेश प्रहरी प्रवक्ता एसपी कँडेलका अनुसार उदयपुरमा ५ सय ५८ प्रहरी परिचालन गरेर ३ सय ३९ रोपनी क्षेत्रफलमा लगाइएको ६ लाख ८३ हजार १ सय ९० बोट गाँजा नष्ट गरिएको छ ।
भोजपुरमा ९ सय २४ रोपनी क्षेत्रफलको २ लाख ३८ हजार ८ सय ९०, खोटाङमा २ सय ८५ रोपनीको १५ हजार ९ सय ३७, सुनसरीमा २ रोपनीको ४ हजार ६ सय २५ र सोलुखुम्बुमा २ रोपनी क्षेत्रफलको २ हजार बोट गाँजा नष्ट गरिएको जानकारी उनले दिए । त्यस्तै, तेह्रथुममा १ सय १५, झापामा ९५, संखुवासभामा ८३, ताप्लेजुङमा ६०, ओखलढुंगामा ४० र इलाममा १० बोट गाँजा नष्ट गरिएको छ ।
लागूऔषध सेवनबाट हुने व्यक्तिगत, सामाजिक र आर्थिक क्षति एवं समस्याका बारेमा सर्वसाधारणलाई बुझाउँदै तथा कानुनी परामर्श दिँदै गाँजा खेतीलाई निरुत्साहित गर्ने अभियानमा प्रहरी रहेको डीआईजी बास्तोलाले बताए ।
लागूऔषध दुव्र्यसनको लक्षण, प्रभाव र त्यसबाट जोगिने उपायसहित सामुदायिक विद्यालय र समुदाय लक्षित जनचेतनामूलक कार्यक्रम पनि संचालन भइरहेको उनको भनाइ छ । डीआईजी बास्तोलाका अनुसार गाँजा नष्ट गरी कृषकलाई वैकल्पिक खेतीका बारेमा आवश्यक परामर्शसमेत दिने गरिएको छ ।
गाँजा खेती हुने सम्भावित क्षेत्रलाई निगरानीमा राखेर लागूऔषधसँग सम्बन्धित कानुनी कारबाही तथा यसको सेवनबाट हुने शारीरिक र मानसिक असरका बारेमा समुदाय लक्षित कार्यक्रमलाई तीव्र पार्दै दुव्र्यसन सम्बन्धी वृत्तचित्र बनाएर प्रदर्शन गर्ने गरिएको जानकारी उनले दिए ।
गाँजा नष्ट गरिरहे पनि प्रहरीले यसको व्यवसायिक खेती गर्नेलाई भने कारबाहीको दायरामा ल्याएको छैन । खेती लगाउनेको पहिचान गर्न नसकिने हुँदा कानुनको दायरामा ल्याउन नसकिएको प्रहरी अधिकारी बताउँछन् । प्रहरीको गाँजा फँडानी अभियानमा स्थानीय बासिन्दा र स्थानीय सरकारले समेत असहयोग गरिरहेका हुन्छन् ।
‘प्रहरीले देखेर नष्ट गर्नुपर्ने अवस्था छ । गाँजा खेतीको सूचना कसैले पनि दिँदैनन्,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘बारीमै गाँजाको खेती भइरहेको भेटिएपनि जग्गा धनी आफूले लगाएको भनेर स्वीकार गर्दैनन् । सबैको असहयोगका कारण खेती गर्नेको पहिचान मुस्किल हुने गरेको छ ।’ प्रहरी अधिकारीका अनुसार स्थानीय सरकारले नै गाँजाको अवैध खेतीतर्फ कृषकलाई प्रोत्साहन गरिरहेका छन् । समुदायको सहयोग नपाउँदा गाँजा नियन्त्रणमा प्रहरी मात्रै आक्रामक बनेर ठूलो प्रतिफल प्राप्त नहुने उनको भनाइ छ ।
प्रहरीका अनुसार मानव वस्तीनजिकैको गाँजाको खेती हुँदा पनि यसको सूचना स्थानीय बासिन्दा र पालिकाले दिँदैनन् । बारीभरि गाँजा भएपनि जग्गाधनीले आफूले नलगाएको र आफैं उम्रिएको बताउने गरेको प्रहरी अधिकारीको भनाइ छ । स्थानीय सरकारले पनि सहयोग नगरेका कारण गाँजाको खेती गर्नेलाई कारबाहीको दायरामा ल्याउन नसकिएको गुनासो प्रहरीको छ ।
धनकुटाको सहिदभूमि गाउँपालिकाका अध्यक्ष मनोज राई कृषकले दुःख गरेर लगाएको गाँजाको खेती नष्ट गर्न प्रहरीलाई सहयोग गर्न नसकिने बताउँछन् । ‘औषधिजन्य प्रयोजनका लागि गाँजालाई वैधता दिनुपर्छभन्ने अभियानमा हामी छौं । कानुनले यसलाई लागूऔषध मानेर प्रतिबन्ध लगाएपनि गाँजाको व्यवसायिक खेतीले कृषकको जीवनस्तर उक्सिन्छ । मुलुककै समृद्धि र आर्थिक रूपान्तरणमा सहयोग पुग्छ । त्यही भएकाले गाँजालाई लागूऔषधको सूचीबाट हटाउनुपर्छ । व्यवस्थित हिसाबले खेती गर्न पाउने वातावरण संघीय सरकारले बनाउनुपर्छ,’ उनले भने ।
राईका अनुसार गाँजा फँडानीको विषयमा प्रहरीसँग बेला–बेला विवाद हुने गरेको छ । प्रहरीले नष्ट गरेर दुःख दिइरहँदा कृषकले गाँजामा गरेको लाखौं लगानी डुबेको उनले बताए । औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीलाई प्रोत्साहन गर्नुपर्नेमा राईको जोड छ । उनका अनुसार कतिपय पालिकाहरुले यसको खेतीलाई प्रोत्साहन गर्ने नीति लिएका छन् । संघीय सरकारले पनि बजेट भाषणमा औषधिका रूपमा गाँजाको प्रयोग गर्न अध्ययन गर्ने घोषणा गरेको थियो ।
सहिदभूमि गाउँपालिकाले संघीय सरकारसँगको साझेदारीमा गाँजा खेतीको सम्भाव्यता अध्ययन र अनुसन्धान गर्ने प्रयोजनका लागि ५ लाख रूपैयाँ विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष राईका अनुसार औषधिजन्य प्रयोजनका लागि गाँजा खेतीभन्ने शीर्षकमा बजेट राखिएको हो । अवैधानिकता हटाएर गाँजालाई वैधता प्रदान गरेमा यसबाट धेरै फाइदा लिन सकिने उनले बताए ।
‘कृषकको हितमा हुने भएकाले गाँजालाई वैधता दिनुपर्छ भनेर हामीले आवाज उठाउँछौं । अध्ययनका लागि संघीय सरकारले पनि बजेटमार्फत नै घोषणा गरेको छ,’ राई भन्छन्, ‘तर, लागूऔषधबाट हटाइएको छैन । कृषकलाई खेती गर्न प्रतिबन्ध लगाइन्छ ।’ प्रहरीले गाँजा फँडानी गरिदिँदा लगानी डुबेर कृषक मर्कामा परेको र गाँजा फाँड्न प्रहरीलाई सहयोग गर्न नसकिने उनी बताउँछन् ।
५७ जना पक्राउ, ६८१ किलो बरामद
कोशी प्रदेशका विभिन्न स्थानबाट प्रहरीले चालु वर्षको हालसम्म ६ सय ८१ किलो ४ सय ८७ ग्राम तयारी गाँजा बरामद गरेको छ । ओसारपसार र कारोबारमा संलग्न ५७ जनालाई पक्राउ गरिएको छ । मोरङबाट ३ सय ३० किलो १ सय ५० ग्राम, सुनसरीबाट २ सय १७ किलो २ सय ४६ ग्राम, धनकुटाबाट ७३ किलो, उदयपुरबाट ४४ किलो २ सय २० ग्राम, झापाबाट १६ किलो २ सय २७ ग्राम र खोटाङबाट ६ सय ४४ ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार गाँजासहित सुनसरीबाट २२, मोरङ १४, झापा १२, उदयपुर ८ र खोटाङबाट १ जना पक्राउ परेका छन् । गाँजाको ओसारपसारमा संलग्न २ जना धनकुटाबाट फरार छन् ।
गत आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले प्रदेशका विभिन्न स्थानबाट ५ हजार ८ सय १५ किलो ७ सय ग्राम गाँजा बरामद गरेको थियो । १ सय ३८ जना पक्राउ परेका थिए ।
मूल्य बढी पर्ने भएकाले पहाडी जिल्लामा अत्यधिक उत्पादन हुने गाँजा कारोबारमा संलग्नले भारततर्फ कटाउने गरेको प्रहरी अधिकारी बताउँछन् । नेपालमा उत्पादित गाँजाको प्रमुख बजार सिमावर्ती भारतीय सहर हो । नेपाल–भारत सीमा क्षेत्रबाट धेरै परिमाणमा गाँजा बरामद हुनुले यसको पुष्टि गर्छ । गाँजाको ओसारपसार लगायतका अवैध धन्दा नियन्त्रणका लागि सीमा क्षेत्रमा नेपाल र सशस्त्र प्रहरीको तैनाथी बढाइएको छ ।
Discussion about this post