इलाम : ‘१५, १६ झाङ किवी लगाएको ठाउँमा अलैँची लगाएको भए दुई मन माथि फल्ने थियो, अहिलेको भाउमा पनि दुई लाख माथि नै हुन्थ्यो ।’ इलाम सन्दकपुर गाउँपालिकाका किसान विनोद खतिवडाले थपे । ‘किवीबाट अहिले पाँच हजारको पनि आम्दानी भएन ।’
उनले किवीलाई अलैँचीसँग दाँज्दै अलैँची बराबरको मूल्य अन्य खेतीबाट हुन नसक्ने बताए । अहिले राम्रो गुणस्तरीय किवी प्रतिकिलो एक सय देखी डेढ सयसम्ममा बिक्री भइरहेको छ । तर अलैँची प्रतिकिलो दुई हजार आठ सय माथिले बिक्री भइरहेको छ ।
अलैँचीको मूल्य हाल एक लाख १५ हजारसम्मले कारोबार भइरहेको छ ।
कुनै बेला प्रतिकिलो छ सय माथिले कारोबार भएको किवी हाल बिक्न समेत समस्या भइरहेको किसानहरूको भनाई छ । बिक्री भएको किवी समेत कम मूल्यमा गइरहेको किसानहरू बताउँछन् । किवीमा जुन लागत छ सो अनुसारको आम्दानी नहुने गरेको उनीहरू बताउँछन् ।
बजारीकरणमा समस्या रहेको किसान ठाकुर खतिवडाको भनाई छ । किसान आफैँले बजारीकरण गर्नु पर्ने, मूल्य समेत आलु बराबर मात्र पाइने गरेको उनले बताए ।
सुरुमा किवी गर्ने किसानहरूले बिरुवा र दानाबाट राम्रो आम्दानी गरेको भए पनि हाल सो मूल्य कायम हुन नसक्दा किसानहरूमा निराशा पैदा भएको छ ।
सोचे जस्तो आम्दानी नभएको किसान रुद्र खतिवडाले बताए । किवीलाई फलफूलको राजा समेत उप नाम दिइएको छ । एउटै किवीबाट धेरै वटा फलफूलमा पाइने भिटामिन र स्वाद हुने भएकाले यसलाई उच्च गुणस्तरको फलका रूपमा लिइन्छ ।
तर बजारीकरणमा सरकार तथा सम्बन्धित निकायले चासो नदिएको किसानहरूको आरोप छ ।
धेरै पौष्टिक तत्त्वले भरिपूर्ण मानिएको किवी फल नेपालको इलाम सहित काभ्रे, पाँचथर, सङ्खुवासभा लगायतका जिल्लाहरूमा समेत खती हुँदै आएको छ ।
पश्चिमी जिल्लाहरूमा समेत पछिल्लो समय इलामबाट नै बिरुवा जान थालेको छ । किवी फलको खेती तथा उपभोग दर विस्तार हुँदै गएको पाइन्छ ।
यो फल धेरै भिटामिनको स्रोत रहेको समेत विज्ञहरू बताउँछन् । किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले हामीले खाएको खाना पाचन प्रक्रियामा सहयोग गर्ने गरेको बताइएको छ ।
यस फलको बोट रोप्दा नै भाले र पोथी प्रजाति पहिचान गरी सँगसँगै रोप्नु पर्दछ । भाले पोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन । भमरा, माहुरी लगायतले फुलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुने गरेको छ ।
यसलाई हाँगा र दिउलबाट पनि थप बिरुवा उत्पादन गर्ने गरिएको छ । रोपेको चौथो वर्षदेखि नै किवी फलको आम्दानी लिन सकिन्छ ।
पहाडी भूभागमा यसको उत्पादन राम्रो हुन्छ । सामुन्द्रिक सहिदेखी १२ सय मिटरदेखि माथि २४ सय मिटरसम्मको उचाइमा किवी फलको खेती गर्न सकिने बताइएको छ ।
Discussion about this post