धरान : विवाहित महिलाहरुको क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकासको उद्देश्यले आयोजना गरिएको ‘मिसेस स्टेट २०२५ कोशी प्रदेश, सिजन थ्री’ प्रतियोगिताका १९ जना प्रतिस्पर्धीहरू ग्रान्ड फिनालेको तयारीमा तीन हप्ते विशेष प्रशिक्षणमा व्यस्त छन्। प्रतियोगिताको ग्रान्ड फिनाले यही जेष्ठ १५ गते गुरुङ बीबीक्यू पार्टी प्यालेस, धरान–१६ मा हुने तय गरिएको छ।
प्रतिस्पर्धीहरूलाई कोरियोग्राफर डिजे ललित राईले स्टेज प्रस्तुति, र्याम्प वाक र क्याटवाकको तालिम दिइरहेका छन्। साथै, आत्मरक्षा, सकरात्मक सोच, उद्घोष कला, महिला सशक्तीकरण, लैंगिक समानता, महिला उद्यमशिलता, आधारभूत पत्रकारिता, महिला स्वास्थ्य, टेवल शिष्टाचार, प्राथमिक उपचार, विजनेस टक, अर्गानिक कृषि लगायतका विषयमा विषयगत विशेषज्ञहरूबाट प्रशिक्षण दिइएको आयोजक वुमन्स वर्थ ग्रुपले जानकारी दिएको छ।
सङ्गठनकी अध्यक्ष सुजता श्रेष्ठका अनुसार, प्रशिक्षकमा आत्मरक्षाका लागि कोशि प्रदेश खेलकुद विकास बोर्डकी सदस्य रोशनी राई, उद्घोष तथा व्यक्तित्व विकासका लागि जेसिज धरानका पूर्व अध्यक्ष मोहन श्रेष्ठ, अर्गानिक कृषिमा प्रो. कृष्ण राई लगायतका विज्ञहरू रहेका छन्। समूहका सचिव ज्योति राईले वैशाख २४ गतेदेखि तीन साता चल्ने प्रशिक्षण कार्यक्रम अझै केही नयाँ विषय समेट्ने जानकारी दिइन्।
प्रतियोगिताको विजेताले नगद रु. ५१ हजार, ताज, ट्रफी, गिफ्ट ह्याम्पर, एक वर्षको क्रन्च फिटनेस कार्ड र जीवन बीमा प्राप्त गर्नेछ। फर्स्ट रनरअपले रु. २५ हजार र सेकेन्ड रनरअपले रु. १५ हजार सहित अन्य उपहारहरू प्राप्त गर्नेछन्। साथै, मिसेस ट्यालेन्ट, पर्सनालिटी, व्युटिफुल, स्माइल, फ्रेन्डशिप, बेस्ट वाक, फोटोजेनिक, डिसिप्लिन, बेस्ट ड्रेस, एक्टिभ र पिपल्स च्वाइस अवार्ड अन्तर्गत ट्रफी, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजक समूहकी कोषाध्यक्ष रोजी ताम्रकारले जानकारी दिइन्।
यस कार्यक्रमले विवाहित महिलामा लुकेको आत्मविश्वास, प्रतिभा र नेतृत्व क्षमताको पहिचान गरी सशक्त बनाउने उद्देश्य राखेको आयोजकले बताएको छ।
प्रतिक्रिया