बर्दिवासमा 'हाम्रो माया घर' निर्माणले लियो गति, ५० प्रतिशत काम सम्पन्न

बुधबार, ०७ जेठ २०८२

महोत्तरी : बर्दिवास–२ हङकङडाँडामा निर्माण भइरहेको 'हाम्रो माया घर' परियोजनाले उल्लेखनीय गति लिएको छ। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहद्वारा नौ महिनाअघि गरिएको शिलान्यासपछि थालिएको भवन निर्माणको हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको छ।

यो परियोजना अशक्त, बेसहारा, सडक मानव, असहाय बालबालिका र वृद्धवृद्धाका लागि सुरक्षित आश्रयस्थलको रूपमा निर्माण हुँदैछ।

'हाम्रो माया घर' निर्माण समितिका अध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार कुल रु १० करोड ६९ लाखको लागतमा दुईवटा भवन निर्माण गरिँदैछ, जसमा दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ।

पहिलो भवनको निर्माण गत वर्ष साउनमा आयोजित शिवपुराण महायज्ञबाट सङ्कलित रु २ करोडबाट सुरु गरिएको थियो। त्यसपछि विभिन्न दाताहरुको सहयोगमा काम निरन्तर अघि बढिरहेको अध्यक्ष भट्टराईले बताए।

केही दिनअघि बर्दिवास नगरपालिकाका प्रमुख प्रहलादकुमार क्षेत्रीले रु २५ लाख सहयोग गर्ने घोषणा गरेका छन् भने ॐ समाज डेण्टल अस्पतालका सञ्चालक डा. सुवास घिमिरेले रु ७ लाख ५० हजार सहयोग प्रदान गरेका छन्।

'हाम्रो माया घर'को लागि पाँच कठ्ठा १० धुर जग्गा निःशुल्क प्राप्त भएको छ। निर्माण समितिका अर्का अध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार, निर्माण सम्पन्न भएपछि मधेसका विभिन्न स्थानमा रहेका असहाय र पीडितहरूलाई खाना, आवास, उपचार र लत्ताकपडासहितको उचित व्यवस्थापन गरी राखिनेछ।

दुईवटै भवन बालबालिका तथा अपाङ्गमैत्री हुनेछन्। बालबालिकाका लागि खेलकुद, मनोरञ्जन र विद्यालय शिक्षासहितको वातावरण तयार गरिने छ। परियोजनाले करिब २०० जना बेसहारालाई मानवोचित आश्रय प्रदान गर्ने लक्ष्य राखेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार