ट्रयाक्टरको ठक्करबाट दुईजनाको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

सोमबार, १२ जेठ २०८२
तस्बिर : इनरुवा अनलाइन

सुनसरी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरीको भोक्राहा नरसिंहमा सोमबार दिउँसो ट्रयाक्टरको ठक्करबाट दुई युवकको ज्यान गएको छ।

ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका–१० का २० वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका–१ का २१ वर्षीय महजित अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

दुर्घटनापछि घाइते दुवै जनालाई तत्कालै उपचारका लागि स्थानीय सप्तकोशी न्यूरो अस्पताल लगिएको थियो। तर, अस्पतालमै सर्पराजको दिउँसो २ बजे र महजितको २स्२० बजे मृत्यु भएको थियो।

पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र–०१–०२–००३ त ९०२ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आइरहेको प्र–१–०२–०५५ प ६२९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनापछि आक्रोशित स्थानीयबासीले राजमार्गको भोक्राहा नरसिंह खण्ड केही समय अवरुद्ध गरेका थिए। इलाका प्रहरी कार्यालय लौकहीबाट ५ जना र जिल्ला प्रहरी कार्यालयबाट २७ जना गरी ३२ जना प्रहरी टोली परिचालन गरी अवस्था नियन्त्रणमा ल्याइ यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ।

ट्रयाक्टर चालक भोक्राहा नरसिंह–३ का ४६ वर्षीय सुब्जी राम चमारलाई प्रहरीले नियन्त्रणमा लिएर घटनासम्बन्धी अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार