पाँचथर : नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कार्यकर्ताले नेताको झोला बोक्ने मात्र नभई स्वाभिमानी भएर जनताको हितका लागि काम गर्नुपर्ने बताएका छन्।
पाँचथरको फालेलुङ गाउँपालिकामा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कार्यकर्ताले आफूलाई सक्षम नेतृत्वको रूपमा स्थापित गर्नुपर्ने धारणा राखे।
“नेताहरूको पछि कुद्ने मात्रै भएर हुँदैन, कार्यकर्ताले जनताको सेवामा खटिनुपर्छ,” कोइरालाले भने,“हामीले जनतालाई खुसी बनाउने काममा केन्द्रित हुनुपर्छ, नेतालाई मात्र खुसी पार्ने सोच त्याग्नुपर्छ।”
कार्यक्रमका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति पनि कटाक्ष गरे। उनले प्रधानमन्त्री ओलीले जथाभावी अभिव्यक्ति दिँदै कार्यकर्तालाई गलत दिशामा उक्साइरहेको आरोप लगाए।
कोइरालाले विशेष गरी ओलीले एमाले कार्यकर्तालाई राजधानी काठमाडौं ‘कब्जा’ गर्न दिएको निर्देशनको आलोचना गर्दै त्यो संविधान र लोकतान्त्रिक अभ्यासविपरीत भएको बताए।
यही जेठ १५ गते प्रधानमन्त्री ओलीले एमालेको बागमती प्रदेश कमिटीद्वारा आयोजित कार्यक्रममा राजधानी कब्जाको अभिव्यक्ति दिएका थिए भने सोही दिन राजावादीहरूद्वारा पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरिएको थियो।
देशलाई मुठभेडतर्फ धकेल्ने खतरनाक अभ्यासको संकेत गर्दै कोइरालाले प्रधानमन्त्रीकै अभिव्यक्तिले मुलुक अस्थिरतातर्फ धकेलिएको चेतावनी दिए।
प्रतिक्रिया