विराटनगर : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले तोकिएको समयमा निर्वाचन नभए संसद् पुनःस्थापना गर्नुको विकल्प नरहने बताएका छन्।
विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले घोषित मितिमा निर्वाचन हुने सम्भावना नदेखिएको भन्दै निर्वाचन नभए देश संवैधानिक सङ्कटतर्फ जान सक्ने चेतावनी दिए। तोकिएको मिति फागुन २१ मा चुनाव हुने आधार नदेखिएको उनको भनाइ थियो।
‘चुनाव नहुने हो भने संसद् पुनःस्थापनाको माग अगाडि बढ्छ। अहिलेको सरकार संविधानअनुसार बनेको होइन,’ कोइरालाले भने, ‘संविधानलाई अझै डिरेल गर्ने हो भने देशको अवस्था के हुन्छ भन्ने गम्भीर रूपमा बुझ्न जरुरी छ। त्यसकारण संसद् पुनःस्थापना गरेर अघि बढ्नुपर्छ।’
यसअघि संसद् पुनःस्थापनाको विपक्षमा देखिएका कोइराला अहिले त्यसको पक्षमा उभिएका हुन्। उनले तोकिएको समयमा निर्वाचन हुन नसके संसद् पुनःस्थापना नै एकमात्र विकल्प हुने स्पष्ट पारे।
नेपाली कांग्रेसले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको उल्लेख गर्दै कोइरालाले पार्टी लोकतान्त्रिक भएकाले केन्द्रीय समितिको निर्णय आत्मसात् गर्ने बताए। तर, सांसदहरूले व्यक्तिगत स्वतन्त्रताको प्रयोग गर्दै सर्वोच्च अदालत जानुलाई अन्यथा लिन नहुने उनको भनाइ थियो।
‘हामी निर्वाचनमा भाग लिन्छौँ,’ उनले भने, ‘तर व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै सांसदहरू अदालत जानुलाई गलत रूपमा लिनु हुँदैन।’
प्रतिक्रिया