काठमाडौँ : विज्ञापन बोर्डका नवनियुक्त अध्यक्ष लक्ष्मण हुमागाईँले घट्दो विज्ञापन बजारलाई पुरानै लयमा फर्काउने तथा विज्ञापन बजारको विकास र विस्तारलाई प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने बताएका छन्।
दोस्रो कार्यकालको पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष हुमागाईँले चाँडै राष्ट्रिय विज्ञापन नीति जारी गरिने र विज्ञापन नियमन ऐन संशोधन प्रक्रिया अघि बढाइने स्पष्ट पारे।
उनका अनुसार हालको मुख्य चुनौती विज्ञापनदाता र सञ्चारमाध्यमबीच विश्वासको वातावरण बनाउँदै सामाजिक सञ्जालमा भइरहेको विज्ञापन प्रवाहलाई मूलधारका सञ्चारमाध्यममा ल्याउने हो। नयाँ नीति र ऐन संशोधनपछि मात्र आम सञ्चार, बाह्य ९जस्तैस् होर्डिङ बोर्ड०, सामाजिक सञ्जाल र ‘इभेन्ट’ विज्ञापनलाई नियमनको दायरामा ल्याउन सकिने उनले बताए।
दुई वर्षअघि मन्त्रालयमा सिफारिश गरिए पनि निष्कर्षमा नपुगेको राष्ट्रिय विज्ञापन नीति अझै अड्किएको जानकारी दिंदै हुमागाईँले त्यसकै कारण ऐन संशोधन प्रक्रियामा ढिलाइ भएको बताए।
पहिलो कार्यकालमा विज्ञापनसम्बन्धी नीतिनियम, मापदण्ड, आचारसंहिता र नियमावलीको संशोधनमा ध्यान दिइएको उनले बताए। त्यही अवधिमा पारदर्शिता कायम गर्न विभिन्न नियामक कार्य अघि बढाइएको पनि जानकारी गराए।
विज्ञापन नियमनका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहकै सरकारको सहकार्य आवश्यक पर्ने उल्लेख गर्दै उनले लोककल्याणकारी विज्ञापनको सुरुवात गरिसकिएको जानकारी पनि दिएका छन्।
प्रतिक्रिया