विराटनगर : मोरङको ग्रामथान गाउँपालिकामा एक ८९ वर्षीया वृद्धाको सुनका गहनाका लागि हत्या गरिएको पाइएको छ। हत्याको आरोपमा ४० वर्षीया सीता ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको छ।
ग्रामथान–७ निवासी तिलमाया खड्का शनिबारदेखि बेपत्ता थिइन्। उनी आइतबार अपरान्ह ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा मृत फेला परेकी हुन्।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, मानसिक सन्तुलन कमजोर भएकी तिलमायालाई सीता ऋषिदेवकी १९ वर्षीया छोरी सोनुले नहरमा डुबिरहेको देखेकी थिइन्। उनले तत्कालै वृद्धालाई उद्धार गरेर आफ्नै घरमा लगेर भिजेका कपडा फेरिदिएकी थिइन्। त्यसपछि सोनु नजिकैको मामाघर गएको र त्यसकै मौका छोपी सीता ऋषिदेवले वृद्धाका कानमा रहेका सुनका मुन्द्री निकालेर तिलमायालाई पुनः नहरमा फ्यालेर हत्या गरेकी थिइन्।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार, वृद्धाको हत्या सुनकै लोभले गरिएको निष्कर्ष प्रारम्भिक अनुसन्धानले देखाएको छ। “वृद्धाले लगाएका सुनका मुन्द्री सीताको घरभित्र खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेका छन्,” उनले भनिन्, “त्यस्तै, वृद्धाको फेरिएको लुगा पनि सीताको घरमै भेटिएको छ।”
घटनापछि सीतालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। हालसम्म उनी घटनाबारे केही बोल्न चाहिरहेकी छैनन्।
वृद्धाको शव पोस्टमार्टमपछि आफन्तलाई बुझाइएर अन्त्येष्टि गरिएको छ। उनका परिवारले सीता ऋषिदेवविरुद्ध कर्तव्य ज्यानको किटानी जाहेरी दिएका छन्।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा अनुसन्धान जारी छ। डीएसपी चुँडालका अनुसार घटनाबारे थप तथ्यहरू खुल्दै जाने छन्।
प्रतिक्रिया