इलाममा ट्राफिक प्रहरीद्वारा मासिक रकम असुलीको आरोप, व्यवसायी र चालक आक्रोशित

शनिबार, ३१ जेठ २०८२

इलाम : इलाम जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी व्यवसायीसँग मासिक रूपमा अवैध रकम असुली गर्दै आएको गुनासो स्थानीय चालक तथा व्यवसायीले गरेका छन्। मासिक तीन सयदेखि पच्चीस सय रुपैयाँसम्म बुझाउन बाध्य पारिएको आरोप उनीहरूको छ।

व्यवसायीहरूका अनुसार ट्राफिक प्रहरीलाई मासिक रकम बुझाएपछि ट्राफिक चेकजाँचबाट छुट पाइने, अन्यथा अनावश्यक दुःख दिने गरिएको छ। एक सवारी धनीले भने, “मासिक तिर्नेहरूलाई ट्राफिक प्रहरीले केही नदेखेझैँ गर्छ, तर नतिर्नेहरूलाई सानातिना बहानामा पनि दुःख दिन्छ।”

अधिकांश चालक तथा सवारी धनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा बोलेका छन् । उनीहरूका अनुसार ट्राफिकले “हुट” राखिएको सवारी, सिट क्षमताभन्दा बढी यात्रु बोकेको गाडी, चप्पल लगाएर गाडी चलाउने जस्ता कानुन उल्लङ्घन गर्ने सवारीलाई समेत नदेखेझैँ गर्ने गरेको छ,'यदि ती सवारीले मासिक रकम बुझाएको भए ।'

सवारीमार्ग चेकजाँच कमजोर हुँदा लागुऔषध, अवैध मदिरा र गोरुको मासु जस्ता निषेधित वस्तुहरूको ढुवानीसमेत सवारीसाधनबाटै भइरहेको स्थानीयको आरोप छ। साना–ठूला होटलहरूमा भारतबाट ल्याइएको प्रतिबन्धित मदिरा खुलेआम बिक्री भइरहेको र गोरुको मासुसमेत सहजै पाइने जनाइएको छ।

सीमा क्षेत्रमा ट्राफिक र प्रहरीको मिलेमतोमा चिनी, मदिरा र अन्य सामान भारतबाट भित्र्याइने गरिएको पनि स्थानीयको भनाइ छ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख लीलानाथ न्यौपानेले भने आफूलाई ट्राफिकले पैसा लिने गरेको जानकारी नभएको प्रतिक्रिया दिएका छन् । उनले उल्टै केही समय पत्रकारसमेत भएको बताउँदै, “यस्ता समाचार आएर केही फरक पर्दैन” भन्ने अभिव्यक्ति दिएका छन्। पत्रकारको समन्वय नरहेको भन्दै उनले संवाद समाप्त गरेका थिए ।

स्थानीयवासी, सवारी चालक र सामाजिक अभियन्ताहरूले इलाममा ट्राफिक प्रणालीमा गम्भीर समस्या रहेको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्। सवारी चेकजाँचमा पारदर्शिता र कडाइ नगरेसम्म लागुऔषध, करछली र अवैध कारोबार नियन्त्रण असम्भव हुने उनीहरूको भनाइ छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार