काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलोभन्दा बढी सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन्। मंगलबार राति विमानस्थलको भन्सार एरियाबाट भारतकी ५३ वर्षीया मीना सुर्जित सिंह खेमानीलाई सुनसहित प्रहरीले नियन्त्रणमा लिएको हो।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई शंकास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो। जाँचका क्रममा उनीसंग अर्धठोस अवस्थामा लुकाइछिपाइ ल्याइएको १ किलो १५९ ग्राम सुन फेला परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।
सुन प्लाष्टिकमा बेरिएको तीनवटा डल्लाको स्वरूपमा ल्याइएको प्रहरीले बताएको छ। अहिले बरामद सुनसहित खेमानीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया