१५ वर्षदेखि फरार बलात्कार अभियुक्त धरानबाट पक्राउ

बुधबार, ११ असार २०८२

सुनसरी : बलात्कार मुद्दामा १५ वर्षअघि दोषी ठहर भई फरार रहेका एक व्यक्ति अन्ततः प्रहरी फन्दामा परेका छन्।

सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी ५९ वर्षीय शुक्रबहादुर नेपाली (सार्की)लाई प्रहरीले मङ्गलवार साँझ धरानबाट पक्राउ गरेको हो।

नेपालीलाई उच्च अदालत विराटनगरले २०६७ साल वैशाख २० गते जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष कैद सजाय सुनाएको थियो। तर,फैसला भएदेखि नै उनी फरार रहँदै आएका थिए।

सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार अस्थायी प्रहरी चौकी बाङ्गेबाट खटिएको टोलीले अस्थायी प्रहरी चौकी रेल–वे धरानसँग समन्वय गरी नेपालीलाई धरान उपमहानगरपालिका–१७ स्थित रेल–वे लाइन आसपास लुकेर बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

अदालतको फैसला अनुसार सजाय भुक्तान नगरी भागी रहेका नेपालीलाई पक्राउ गरेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत सुनसरीमा पेस गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार