सडक स्तरोन्नतिले फेरिँदै सुदूरपश्चिममा धनगढीको स्वरुप

सोमबार, २३ असार २०८२

सुदूरपश्चिम : पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरुप फेरिन थालेको छ ।
  
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ  । व्यवस्थित एवं आकर्षक सहरको रुपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सञ्चालित यस आयोजना अन्तर्गत सहिद गेटदेखि क्याम्पस, गुल्मदेखि चर्चसम्मको सडक, मालपोत सडक, मुख्यबजार कैलाली पुलदेखि ट्राफिक चौराहाको सडक, डिभोटी होटेलदेखि दाहाल टोलको सडक स्तरोन्नति पूरा भएको छ । 
  
सडकको दायाँबायाँ फुटपाथसहित सुरक्षाका लागि फलामे बार लगाइएको छ । यसै आयोजनाअन्तर्गत धनगढी उपमहागरपालिका–७ पटेला क्षेत्रमा रु एक अर्ब २५ करोड लागतमा एकीकृत फोहरमैला व्यवस्थापनसम्बन्धी योजना निर्माण अघि बढेको छ । 
  
धनगढी उपमहानगर क्षेत्रबाहेक कैलालीको अत्तरिया र कञ्चनपुरको झलारीपिपलाडी र महेन्द्रनगर ९भीमदत्तनगर० नगरपालिकामा पनि सडक स्तरोेन्नति, सार्वजनिक भवन निर्माण, ढलनिकास, फोहरमैला व्यवस्थापनलगायतका काम भइरहेका छन् । 
 
सङ्घीय सहरी विकास तथा भवन कार्यालय धनगढीमार्फत आयोजना कार्यान्वयन भइरहेको छ । पञ्चवर्षीय यो आयोजना कार्यान्वयनका लागि धनगढी उपमहानगरपालिका र सहरी विकास आयोजनाबीच सम्झौता भएको थियो । प्रदेश सरकारको बजेटबाट मुख्य बजार क्षेत्रको कैलाली पुलदेखि क्याम्पस चोकसम्मको सडक  स्तरोन्नति भइरहेको छ ।
  
सहरी विकास मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र धनगढी उपमहानगरपालिकाको संयुक्त पहलमा विभिन्न सडकखण्डमा ‘स्मार्ट स्ट्रिट लाइट’, ‘हाइमास्ट लाइट’, ‘फ्लड लाइट’ र ‘स्ट्रिपलाइट’ जडान गरिएको छ । सडक बत्ती जडानसँगै ‘उज्यालो धनगढी’ बनेको छ । 

फूलका बोटबिरुवासहितको हरियाली, सडक दायाँबायाँ फुटपाथ निर्माण र जडान भएका रङ्गीविरङ्गी बत्तीले राति झिलिमिली हुने गरेको छ । झिलिमिली बत्तीमा साँझपख टिकटक बनाउने र तस्बिर लिनेको समूह भेटिन थालेका छन् ।         
 
‘उज्यालो धनगढी अभियान’ अन्तर्गत उपमहानगरका सबै वडामा बत्ती जडान गरिने उपमहानगरपालिकाका इञ्जिनियर अशोक अवस्थीले बताउनुभयो । सघन सहरी विकास कार्यक्रमअन्तर्गत बेहडी र तारानगरको सडक स्तरोन्नति भइरहेको छभने धनगढी गाउँदेखि बेली गाउँसम्मको सडकका साथै हसनपुरको सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भएको छ । पार्क मोडमा ‘सपिङ कम्प्लेक्स’ निर्माण भइरहेको छ ।

त्यसैगरी मोहना पुलदेखि गोदावरी नगरपालिकाको अत्तरिया चोकसम्म १४।२ किलोमिटर लामो सडक स्तरोन्नति पूरा भएको छ । मोहनापुलदेखि गेटा खण्डसम्म ‘छ लेन’, गेटादेखि मनोहरा पुलसम्म ‘चार लेन’ र मनोहरा पुल देखि अत्तरिया चोकसम्म ‘आठ लेन’ सडक निर्माण एवं स्तरोन्नति पूरा भइसकेको सडक डिभिजन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार