चीनको पाँचवर्षे योजनामा हरित विकास प्राथमिकतामा, ऊर्जा खपतमा ११.६ प्रतिशत गिरावट

बुधबार, २५ असार २०८२
सांकेतिक फाईल

चीनले आफ्नो १४औँ पाँचवर्षे योजनाअन्तर्गत आर्थिक विकासका क्रममा ऊर्जा खपतमा उल्लेखनीय प्रगति गर्दै गएको छ । योजनाको पहिलो चार वर्षमा कुल गार्हस्थ उत्पादन (जीडीपी)को तुलनामा ऊर्जा खपत ११ दशमलव ६ प्रतिशतले घटेको राष्ट्रिय विकास तथा सुधार आयोग (एनडीआरसी) का प्रमुख झेङ शानच्येले बुधबार जानकारी दिएका छन् ।

उनका अनुसार, यो कमी झन्डै एक अर्ब १० करोड टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउनु बराबर हो, जुन युरोपेली सङ्घले उत्सर्जन गरेको कुल कार्बनको करिब ५० प्रतिशत हो ।

चीनले पछिल्ला वर्षहरूमा ऊर्जा दक्ष प्रविधिको प्रयोग, पुनःनवीकरणीय ऊर्जामा लगानी र ऊर्जा अपव्यय न्यूनीकरण जस्ता कदमहरूलाई प्राथमिकता दिँदै आएको छ । उद्योग, यातायात र निर्माण क्षेत्रहरूमा हरित नीतिहरूको कडाइका साथ कार्यान्वयन भइरहेको छ ।

चीनले सन् २०३० भित्रमा कार्बन उत्सर्जनको उच्चतम बिन्दुमा पुग्ने र सन् २०६० सम्ममा पूर्ण कार्बन तटस्थता (शून्य उत्सर्जन) प्राप्त गर्ने लक्ष्य लिएको छ ।

यसका लागि सरकारले उद्योग रूपान्तरण, हरित पूर्वाधार विकास तथा ऊर्जा स्रोतको विविधीकरण जस्ता रणनीतिक पहलहरू अघि सारेको छ । वातावरणीय संकटका सन्दर्भमा चीनको यो कदम विश्वसमुदायका लागि सकारात्मक सन्देश भएको टिप्पणी विज्ञहरूले गरेका छन्।चीनको अनुभवले विकासशील राष्ट्रहरूलाई आर्थिक वृद्धिसँगै वातावरण संरक्षण सम्भव छ भन्ने उदाहरण दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार