धर्म परिवर्तनको षड्यन्त्रमा छांगुर बाबा : नेपाललाई समेत निशाना बनाएको खुलासा

बुधबार, ३२ असार २०८२

सञ्जय मिश्रा

हरिद्वार : भारतको उत्तर प्रदेशस्थित बलरामपुर जिल्लामा आतङ्कवाद विरोधी दस्ताले पक्राउ गरेको छांगुर बाबासम्बन्धी अनुसन्धानले गम्भीर खुलासा गरेको छ। सन् २०२४ को अगस्टमा एफआईआर दर्ता भई हाल रिमाण्डमा रहेका छांगुरले भारतसँग सीमा जोडिएका नेपाली भू–भागहरूमा समेत धार्मिक कट्टरता फैलाउने र इस्लाम धर्ममा रूपान्तरण गराउने योजनामा संलग्न भएको पुष्टि भएको हो।

भारतीय एटीएस (आतङ्कवाद विरोधी दस्त) का अनुसार छांगुरले नेपाल–भारत सीमावर्ती ४६ गाउँमा धर्म परिवर्तन केन्द्र स्थापना गर्ने योजनासहित करिब १० करोड भारु (झन्डै १६ करोड नेपाली रुपैयाँ) खर्च गर्न खोजेका थिए।

विशेषगरी गरिब, बेरोजगार, अशिक्षित तथा कमजोर आर्थिक अवस्था भएका नेपाली युवाहरूलाई लक्षित गर्दै जलसा, प्रवचन तथा पर्चामार्फत कट्टर सोच फैलाउने प्रयास गरिएको थियो। आर्थिक प्रलोभनका माध्यमबाट उनीहरूलाई इस्लाम धर्ममा रूपान्तरण गर्न योजना बनाइएको थियो।

सन् २०१५ सम्म पुराना बाइक चढ्दै औँठी बेच्ने छांगुरले सन् २०२० पछि विदेशबाट निरन्तर पैसा प्राप्त गर्दै आर्थिक शक्ति बढाउँदै गएका थिए। नेपाल हुँदै पाकिस्तान, दुबई, साउदी अरब, टर्की लगायतका देशबाट ३०० करोडभन्दा बढी विदेशी रकम भारत पठाइएको दाबी गरिएको छ। ती रकमहरू काठमाडौँ, नवलपरासी, रुपन्देही, बाँके लगायतका सीमावर्ती जिल्लाका १०० भन्दा बढी बैङ्क खातामार्फत भारतीय खातामा सारिएको अनुसन्धानले देखाएको छ।

छांगुरको सञ्जालमार्फत हिन्दु महिला तथा गरिब वर्गका मानिसहरूलाई जबरजस्ती, डर धम्की र आर्थिक लोभ देखाएर धर्म परिवर्तन गराइएको आरोप पनि लागेको छ। “जातीय रेट कार्ड” अनुसार धर्म परिवर्तन गराइने प्रत्येक व्यक्तिको मूल्य तोकिएको थियो – ब्राह्मण तथा क्षत्रियका लागि १५–१६ लाख, पिछडावर्गका लागि १०–१२ लाख र अन्य जातिका लागि ८–१० लाख भारु।

नेपालभित्र पनि छांगुरले सीमावर्ती क्षेत्रका सामाजिक तथा आर्थिक कमजोरीहरूलाई प्रयोग गर्दै कट्टरता फैलाउने योजनामा सक्रिय भएको प्रमाण भेटिएको छ। उनले सरकारी जमिन कब्जा गर्ने खेलमा समेत संलग्न रहेको र भारतको उतरौला क्षेत्रमा सार्वजनिक जमिन एक करोड भारुमा बेचेको तथ्य सार्वजनिक भएको छ।

छांगुरका छोरा र सहयोगी पक्राउपश्चात् नेटवर्क कमजोर बनिरहेको बेला एटीएसले अनुसन्धानलाई अझ तीव्र बनाएको छ। छांगुरको पाँच करोड मूल्यको हवेली, जसमा निजी पावर स्टेसन, विदेशी मार्बल र सुरक्षा प्रणालीसहितको संरचना थियो, त्यसलाई उत्तर प्रदेश सरकारको निर्देशनमा बुल्डोजर लगाएर भत्काइएको छ।

धार्मिक उन्माद र विदेशी लगानीको आडमा सञ्चालन गरिएको यस्तो गम्भीर षड्यन्त्र नेपालका लागि पनि चेतावनी स्वरूप हो। खुला सिमाना, कमजोर सुरक्षा प्रणाली, र सीमित सरकारी उपस्थिति भएका ग्रामीण क्षेत्रमा यस्ता अभियान सजिलै फैलिन सक्छन्। त्यसैले नेपाल सरकारले यस्ता गतिविधिको सूक्ष्म निगरानी गर्न, सशक्त सुरक्षा संयन्त्र विकास गर्न र युवाहरूलाई शिक्षा, रोजगार र सशक्तीकरणमार्फत कट्टर सोचबाट टाढा राख्न दीर्घकालीन रणनीति अपनाउनु आवश्यक छ।

प्रतिक्रिया

NEWS KARKHANA
लेखकको बारेमा
NEWS KARKHANA
NEWS AGENCY

समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार