पत्रकारहरूले कहिलेकाहीँ समाचार देखाउने मात्रै होइन, आफैं पनि समाचार बन्छन् भन्ने भनाइलाई पुष्टि गर्ने घटना पाकिस्तानको रावलपिंडीमा घटेको छ। चाहन बाँध नजिकै बाढीको प्रत्यक्ष रिपोर्टिङ गर्दै गरेका एक रिपोर्टर तीव्र बहावमा बग्दै गएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ।
अल अरबिया अंग्रेजीले सामाजिक सञ्जाल ‘एक्स’ मा सार्वजनिक गरेको भिडियामा ती रिपोर्टर कम्मरसम्म पानीमा उभिएर माइक समाउँदै बाढीको अवस्था प्रत्यक्ष रूपमा दर्शकसामु प्रस्तुत गरिरहेका देखिन्छन्। उनी आफ्नो रिपोर्टिङमा तल्लिन हुँदै गर्दा पानीको बहाव अचानक तीव्र हुन्छ र केही सेकेन्डमै उनी बग्न पुग्छन्। उनको टाउको र हात पानीमा डुबेको र त्यसपछि बग्दै गएको दृश्य पूर्ण रूपमा क्यामेरामा कैद भएको छ।
भिडियो भाइरल भएसँगै लाखौंले हेरेका उक्त दृश्यप्रति सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले ती रिपोर्टरको साहसको खुलेर प्रशंसा गरेका छन्। केहीले भने यस्ता जोखिमपूर्ण अवस्थाबाट पत्रकारहरूलाई सुरक्षित राख्ने उपाय अपनाउन आवश्यक रहेको बताएका छन्।
पाकिस्तान हाल अत्यधिक वर्षा र बाढीको मारमा परेको छ। विशेष गरी पञ्जाब प्रान्तमा अवस्था अत्यन्तै खराब भएको छ। जुलाई १ देखि हालसम्मकै सबैभन्दा बढी वर्षा भएको मौसम विभागको भनाइ छ। अहिलेसम्म कम्तीमा ५४ जनाले ज्यान गुमाइसकेका छन्।
प्रतिक्रिया