मन्त्री यादवद्वारा रातिको छड्के अनुगमन, मेलम्ची पानी वितरणको तयारी तीव्र

सोमबार, ०५ साउन २०८२

काठमाडौँ : खानेपानी मन्त्री प्रदीप यादव आज राति स्वयम् मैदानमा उत्रिँदै मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गतको कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा छड्के अनुगमन गर्नुभएको छ।

प्रधानमन्त्री निवास बालुवाटारदेखि नक्साल, टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग र सुवर्ण शम्शेर सडकसम्मका क्षेत्रहरूमा बिछ्याइएको पाइपलाइन निरीक्षण गर्ने क्रममा मन्त्री यादवले मेलम्ची परियोजना अन्तर्गत भइरहेको कार्यको प्रत्यक्ष जानकारी लिनुका साथै तत्काल पाइप परीक्षण (प्रेसर टेष्ट) सम्पन्न गरी मेलम्चीको पानी वितरण कार्य सुरु गर्न निर्देशन दिनुभयो।

बालुवाटार क्षेत्रको प्राइमरी पाइपलाइन (३१५ मिमि र २८० मिमि एचडिइपी) को निर्माण तेर्सो दिशात्मक ड्रिलिङ (एचडिडी) प्रविधिबाट सफलतापूर्वक सम्पन्न भएको मन्त्री यादवले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मेलम्ची खानेपानी आपूर्ति प्रणाली अन्तर्गत बालुवाटार लगायतका क्षेत्रमा पाइपलाइन बिछ्याउने काम सफल भएको पाइयो, ती क्षेत्रमा चाँडै मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको छु।”

आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) प्रमुख लक्ष्मी उपाध्यायका अनुसार अब डिएमए H2, I3, I4 र I5 अन्तर्गत पर्ने बालुवाटार, नक्साल (भाटभाटेनी पूर्व), टुडालदेबी, विशालनगर, वङ्शीधर मार्ग पश्चिम तथा सुवर्ण शम्शेर सडक क्षेत्रका करिब ३ हजार ५०० घरधुरी मेलम्चीको पानीबाट लाभान्वित हुनेछन्।

पिआइडीका आयोजना प्रवन्धक अमित रञ्जितका अनुसार, शुद्ध, स्वच्छ र नियमित खानेपानी आपूर्ति गर्ने दीर्घकालीन लक्ष्यअनुसार पाइपलाइन बिछ्याउने कार्य सम्पन्न गरिएको हो। अहिले दबाव परीक्षणको तयारी भइरहेको र परीक्षण सफल भएपछि तत्काल वितरण कार्य प्रारम्भ गरिने योजना छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार