विद्या भण्डारीलाई ‘सक्रिय राजनीति’मा आउन रोक्ने एमालेको निर्णय

बुधबार, ०७ साउन २०८२

काठमाडौँ : नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ।

ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको हो।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भण्डारीको सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै सदस्यता नवीकरणसमेत नगर्ने प्रस्ताव अघि सारेका थिए।

उक्त प्रस्तावमा तीन नेताले असहमति जनाए पनि बहुमतले पारित गरिएको छ।

गौतमले भने, "पूर्वराष्ट्रपति राष्ट्रको अभिभावक, राष्ट्रिय एकताको प्रतीक हुन्। यस्ता व्यक्तिहरू राजनीतिक दलमा कार्यकर्ता वा नेता बन्नु संविधान, मर्म र भावना विपरीत हो भन्ने निष्कर्ष बैठकले निकालेको छ।"

यससँगै भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको चर्चा टुङ्गिएको देखिन्छ। 

तीन नेताको असहमति

यद्यपि, निर्णयमा एमालेका तीन नेताहरू उपाध्यक्ष युवराज ज्ञवाली, उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका छन्।

ज्ञवालीले विषय तत्काल निर्णय नगरी सचिवालय बैठकमा लैजान सुझाव दिएका थिए भने पाण्डेले निर्णयले पार्टीलाई नकारात्मक असर पार्न सक्ने भन्दै थप छलफलको माग गरेका थिए।

थापाले बैठकमा बोल्न समय मागेका थिए तर अध्यक्ष ओलीले रोकेको बैठक स्रोतले जनाएको छ। त्यसपछि थापाले लिखित रूपमा असहमति जनाउने बताएका थिए।

त्यसैगरी, बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय गर्दै आगामी विधान अधिवेशनपछि अध्यक्ष केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउने बाटोसमेत खुला गरिदिएको छ।

यस निर्णयले एमालेभित्रको नेतृत्व निरन्तरतासँगै पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई पूर्णविराम दिएको देखिन्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार