विराटनगर : मोरङको कटहरी गाउँपालिका–६ थलाहामा विद्युतको पोलमा चढेर तार जडान गर्ने क्रममा करेन्ट लाग्दा कन्स्ट्रक्सनका एक जना मजदुरको मृत्यु भएको छ। मृतक भोजपुर घर भएका २६ वर्षीय सुभाष सार्की हुन्।
सार्की कटहरी–६ का बद्री यादवको घरमा मिटरबक्स राख्नका लागि विद्युत् लाइन जडान गर्ने क्रममा पोलमा चढेका थिए । पोलमा चढेलका उनलाई मंगलबार राति करिब ८ बजेतिर करेन्ट लागेको प्रहरीले जनाएको छ ।
अचानक करेन्ट लागेपछि पोलबाट खसेर सार्की गम्भीर घाइते भए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार घाइते सार्कीलाई उपचारका लागि तत्काल विराटनगरस्थित न्युरो अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सार्की ‘प्रीति कन्स्ट्रक्सन’मा कार्यरत थिए। नेपाल विद्युत प्राधिकरणले विद्युत विस्तार, तार टाँग्ने, पोल गाड्ने, ट्रान्सफर्मर राख्ने लगायतका कामका लागि सार्वजनिक टेण्डरमार्फत प्रीति कन्स्ट्रक्सनलाई ठेक्का दिएको थियो । सोही सम्झौताअनुसार सार्की कटहरी क्षेत्रमा खटिएका थिए।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार सुरक्षा सावधानी नअपनाई पोलमा चढेर काम गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। तर, ठेकेदार कम्पनी प्रीति कन्स्ट्रक्सनले कामदारलाई सुरक्षाका न्यूनतम उपकरण र तालिम उपलब्ध गराएको थियो वा थिएन भन्ने विषयमा भने छानबिन भइरहको प्रहरीले बताएको छ।
प्रतिक्रिया