मुस्ताङको खिङ्गामा ‘यार्तुङ’ पर्व सुरु, प्रकृति र शान्तिको कामनासहित घोडेसहितको यात्रा

मंगलबार, २० साउन २०८२

मुस्ताङ : वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा साँस्कृतिक पर्व ‘यार्तुङ’ शुरु भएको छ। यहाँको वडा एक खिङ्गा गाउँबाट योस वर्षको ‘यार्तुङ’ पर्व थालिएको  हो।

‘यारको अर्थ बर्खा’ र ‘तुङको अर्थ समाप्ति’ भन्ने बुझिन्छ। यसैका खातिर बर्खायाम सकिएको र हिउँदयाम शुरु भएको भन्दै खिङ्गा गाउँमा यार्तुङ पर्व मनाइन्छ।

बर्खायाममा उवा र जौलगायत अन्नबाली थन्क्याएर खेतबारीमा फापरबाली छरेपछि वारागुङ मुक्तिक्षेत्रमा ‘यार्तुङ’ पर्व मनाइने गरिन्छ। यार्तुङ पर्वका बेला यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन्। यही फुर्सदिलो महिनामा धार्मिक तथा साँस्कृतिक पर्व यार्तुङ मनाउने गरिएको हो।

यार्तुङ पर्वमा प्रकृति र विश्वशान्तिको कामना गर्ने प्रचलन रहेको वारागुङ मुक्तिक्षेत्र- १ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाभित्रका १९ वटा गाउँ र उपल्लो मुस्ताङमा फरकफरक तिथिमा यार्तुङ पर्व मनाइने गरिएको छ।

खिङ्गा गाउँमा औपचारिक रूपमा यार्तुङ पर्व मनाउने क्रम चलेको उनले बताए। खिङ्गाबाट शुरु भएको धार्मिक तथा साँस्कृतिक पर्व यार्तुङ त्यसपछि क्रमशः यहाँका सबै स्थानमा गुरुङ, विष्ट र लोवा समुदायले मनाउने प्रचलन छ।

सोमबार खिङ्गा गाउँमा सबै घरका स्थानीय नागरिक समाजघरमा एकतृत भएका थिए। समाजघरमा जम्मा भएका स्थानीय गुरुङ समुदाय गाउँकै गुम्बामा सामूहिक रूपमा यार्तुङ पर्वको धार्मिक पूजापाठमा उपस्थित भए। गुम्बामा पुजारीद्वारा पूजापाठ सकेपछि पुनः समाजघरमा खानपान गरेर यार्तुङ पर्वको कार्यक्रममा सहभागी भएको वडाध्यक्ष गुरुङको भनाइ छ।

स्थानीय पुरुष तथा महिलाको आफ्नो जातीय मौलिक वेशभूषा पहिरिएर मुक्तिनाथ मन्दिर र त्यहाँको नरसिंह गुम्बाको दर्शनमा निस्किएका थिए।

अठार वर्षदेखि ६० वर्षसम्मका पुरुष तथा महिलाहरुले धार्मिक तथा सांस्कृतिक प्रचलनअनुसार यार्तुङ पर्वलाई आत्मसात् गर्दै खिङ्गा गाउँबाट मुक्तिनाथसम्मको यात्रा पूरा गरेका थिए। पुरुषहरू वेशभूषामा चिटिक्क सजिदै घोडामा सवार थिए भने महिला घोडाको अघिअघि स्थानीय भाषामा यार्तुङसम्बन्धी गीत गाउँदै मुक्तिनाथतर्फ लागेका थिए।

महिलाले स्थानीय भाषामा गीत गाउँदै यार्तुङ पर्व आयो, यार्तुङमा सबैलाई राम्रो भयो, अनिष्ट भएन, प्रकृतिले साथ देओस र सबैतिर शान्ति छाओस् भन्ने कामना गरेको खिङ्गा गाउँकी स्थानीय सेर्केनी गुरुङले बताइन्। उनका अनुसार यार्तुङमा गाइने स्थानीय भाषाको गीतलाई फेन्दुन छोकी रिला भन्ने गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार