गुरुयोजनाविना कर्णालीको विकास असम्भव :  उपसभापति खड्का

बुधबार, २१ साउन २०८२

सुर्खेत : नेपाली काँग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशको द्रुत र समावेशी विकासका लागि दीर्घकालीन गुरुयोजना निर्माण अत्यावश्यक रहेको बताएका छन्।

मङ्गलवार सुर्खेतमा प्रदेश योजना आयोगका पदाधिकारीहरूसँगको भेटमा बोल्दै उपसभापति खड्काले कर्णालीको सम्भावना, साधन–स्रोतको उपलब्धता र लक्ष्यसहितको समग्र गुरुयोजना निर्माण गरी त्यसैको आधारमा तीनै तहका सरकार र विकास साझेदारलाई केन्द्रित गर्नुपर्ने सुझाव दिए। ‘स्रोत, सम्भावना र लक्ष्यको स्पष्ट खाका बनाएर काम गर्‍यो भने मात्रै कर्णालीको विकासमा गति आउँछ,’ उनले भने।

उनले कृषि, फलफूल, जडीबुटी, जलविद्युत, पर्यटन, पूर्वाधार र संस्कृति लगायतका क्षेत्र समेटेर समग्र गुरुयोजना तयार गर्नुपर्नेमा जोड दिए।

कर्णालीको विकट भूगोल, छरिएर रहेका बस्ती र आधारभूत सेवा पु¥याउनका चुनौतीहरूलाई सम्बोधन गर्न बस्ती एकीकरणको अवधारणा अघि सार्दै खड्काले भने, ‘दुई घर–तीन घरलाई छुट्टाछुट्टै सेवा पुर्‍याउन समय र स्रोत दुवै लाग्छ, त्यसैले एकीकृत बस्ती विकास अनिवार्य छ।’

उनले कर्णाली प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनबारे जानकारी लिँदै योजनाविहीन लगानी सम्मेलनले सफलता नदिने तर्क गरे। ‘लगानी सम्मेलन अहिले फेसन बनेको छ, तर विस्तृत अध्ययनबिनै आयोजना घोषणाले लगानी आउँदैन,’ उनले भने।

उपसभापति खड्काले प्रदेश राजधानी सुर्खेतको विमानस्थलको विस्तारका विषयमा अवरोध भइरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरको वैकल्पिक विमानस्थल आवश्यक छ वा छैन भन्ने विषयमा प्रदेश सरकारले स्पष्ट निर्णय गर्नुपर्ने धारणा राखे। ‘यदि आवश्यक छैन भने मन्त्रिपरिषद्ले निर्णय गरेर विषय टुङ्ग्याउन्, आवश्यक छ भने प्राथमिकतामा राखेर काम अगाडि बढाओस्,’ उनले स्पष्ट पारे।

यसै अवसरमा प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले पनि ‘समृद्ध कर्णाली, सुखी कर्णालीवासी’को दीर्घकालीन सोच साकार पार्न गुरुयोजना निर्माण अपरिहार्य रहेको बताए।

उनले हाल पञ्चवर्षीय योजना कार्यान्वयनमा भए पनि समग्र गुरुयोजना अभावमा कर्णालीको दीर्घकालीन विकासमा प्रभावकारी हस्तक्षेप हुन नसकेको उल्लेख गरे।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार