धरान : सुनसरीको बराहक्षेत्र नगरपालिका–१ दुधपानी खोलामा शुक्रवार भएको दुर्घटनापछि कोशीमा बगेकी १९ वर्षीया अनिता राई अझै बेपत्ता रहेकी छिन् । आइतबारसम्म पनि उनको खोजी कार्य निरन्तर जारी छ ।
शुक्रवार दिउँसो करिब १:५० बजे धरान–१६ निवासी ४५ वर्षीय जीवन राई मोटरसाइकलमा छोरी अनितासँग धरानतर्फ आउँदै गर्दा आकस्मिक रूपमा बढेको दुधपानी खोलाले उनीहरूलाई बगाएको थियो ।
मोटरसाइकलसहित खोलाले बगाएका बुबा–छोरी दुवै जना कोशीमा पुगेका थिए ।
स्थानीयवासी र प्रहरीको सक्रियतामा सप्तकोशी किनारबाट जीवन राईलाई जीवितै उद्धार गरिएको थियो ।
हाल उनी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचाररत छन् । तर छोरी अनिता भने खोलामा बगेको दुई दिन बितिसक्दा पनि भेटिएकी छैनन् ।
१२ जना प्रहरीको टोली खटियो
घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा ५ जना, चतराबाट सई राजन खड्काको कमाण्डमा ५ जना र अस्थायी प्रहरी पोष्ट चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जना सुरक्षाकर्मी खोजतलासमा खटिएका छन् ।
कायकमार्फत खोजी, तर परिणाम शून्य
शनिवार दिनभर कायक प्रयोग गरेर घटनास्थलदेखि राजाबाससम्म अनिताको खोजी गरियो । तर खोजी अभियान निष्फल भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगर प्रमुख निरीक्षक कुँवरले जानकारी दिए ।
उनका अनुसार आइतबार भने राजाबासदेखि कोशी ब्यारेजसम्म कायकमार्फत खोजी अभियान अघि बढाइनेछ । कायक एकजनाले चलाउन मिल्ने सानो र हल्का डुङा हो, जुन र्याफ्टिङमा बोटलाई गाइड गर्न प्रयोग गरिन्छ ।
प्रहरी निरीक्षक कुँवरका अनुसार बाढीसँगै दाउरा, रुखका ठुटा, फोहरसमेत बगेकाले ठुला बोट सञ्चालन गर्न अप्ठ्यारो भएकाले कायक प्रयोग गरिएको हो । “कायक कुनाकाप्चा पुग्न सक्छ, त्यसैले खोजी छिटो हुन्छ,” उनले भने, “भेटिएपछि मात्र ठूलो बोट प्रयोग गर्ने तयारी छ ।”
स्थानीय चिन्तित
घटनापछि दुधपानी खोला किनार र सप्तकोशी वरिपरि त्रास फैलिएको छ । स्थानीयवासी रातदिन प्रहरीसँगै खोजीमा खटिएका छन् । तर अनिता अझैसम्म नपाइएपछि परिवार र आफन्तहरू पीडामा छन् ।
प्रतिक्रिया