विराटनगर। मोरङको रतुवामाई नगरपालिका–४ आमबारी चोकबाट चोरी भएको मोटरसाइकल प्रहरीले झापामा फेला पारेको छ । चोरीमा संलग्न दुई युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङकी पुष्पमाया खतिवडाले घरको कम्पाउण्डमा पार्किङ गरी राखेको को ३० प ९६७७ नम्बरको मोटरसाइकल साउन ३० गते राति १२ बजे चोरी भएको थियो । उक्त मोटरसाइकल झापा जिल्लाको भद्रपुरतर्फ लैजाइरहेको भन्ने विशेष सूचनाको आधारमा भदौ २ गते दिउँसो २ बजे प्रहरी टोलीले भद्रपुर नगरपालिका–५ मेचीपुलस्थित चेकपोष्टमा चेकजाँच गर्ने क्रममा फेला पारेको हो ।
प्रहरीका अनुसार मोटरसाइकलमा झापाको गौरीगन्ज गाउँपालिका–५ का २० वर्षीय रोम भन्ने प्रकाश यादव र विर्तामोड नगरपालिका–१ का २० वर्षीय ओम प्रकाश खडका सवार रहेका थिए । उनीहरू उक्त मोटरसाइकल नेपाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ परेका यादव र खडकालाई आवश्यक कारबाहीका लागि मोरङको इलाका प्रहरी कार्यालय सिजुवामा पठाएको जनाएको छ ।
प्रतिक्रिया