गण्डकी- साढे तीनदशक सरकारी जागिरमा समय विताएर सेवा निवृत्त भएका मित्रलाल त्रिपाठी यतिखेर ड्रागन फ्रुटखेतीमा लागकेा छन्। सेवानिवृत्त जीवनलाई सक्रिय बनाउने दृढताका साथ उनी व्यावसायिक ड्रागन खेतीमा लागेका हुन्।
संघीय सडक तथा सुपरिवेक्षण अनुगमन कार्यालयबाट सेवा निवृत्तिभरण भएका त्रिपाठीले पोखरा महानगरपालिका-२५ हेमजाको फुर्केटारीस्थित वर्षौँदेखि बाँझिएको भिरालो पाखोमा व्यावसायिक ड्रागन खेती गरेका छन्।
जंगलको छेउमा अमेरिका, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया, थाइल्याण्ड, ताइवान, भारतको तामेलनाडुलगायतका विभिन्न देशबाट ल्याएका ९० भन्दा बढी प्रजातिका ड्रागन फलका बिरुवाले फल दिन थालेको उनले बताए।
पारिवारिक घुमफिरका लागि अमेरिकामा जाँदा ड्रागन फलको स्वाद पाएपछि फर्कँदा ल्याएको एउटा बिरुवा गमलामा रोपेको बताउँदै उनले भने, 'राम्रो उत्पादन दिएपछि आफ्नो वर्षौँदेखि बाँझिएको जग्गामा व्यावसायिक ड्रागन खेती सुरू गर्ने प्रेरणा स्रोत हो।'
समुद्री सतहदेखि ११०० मिटरको उचाइ, ३ देखि ३२ डिग्री तापक्रम, तीनदेखि चार हजारसम्म मिलिमिटर औसत वर्षा रहेको सो १० रोपनी जग्गामा लगाएका दुई हजार बिरुवाले फल दिन थालेको फुर्केटारी एग्रो (ड्रागन फ्रुट्स) फर्मका प्रोपाइटरसमेत रहेका कृषक त्रिपाठी बताउँछन्।
उनले भने, '२०८० बैशाख १२ गते विधिवतरूपमा फुर्केटारी एग्रो (ड्रागन फ्रुट्स)फर्म दर्ता गरेर सुरू गरेको व्यावसायिक ड्रागन खेतीले पहिलो वर्षबाटै उत्पादन दिन सुरू गरेको हो।'
उनका अनुसार यस वर्ष उत्पादन राम्रो भएको छ। आफूले खाएर, इष्टमित्रलाई चखाएर पनि दुई लाखभन्दा बढीको ड्रागन फल बिक्री गरेको उनले बताए। उत्पादित फल फर्मबाटै प्रतिकेजी ५ सय रूपैयाँका दरले बिक्री हुने गरेको छ।
खरिदका लागि ग्राहक फर्ममै आएर आफै टिप्ने र तौलेर लैजानले गरेको बताउँदै उनले उत्पादित फल पोखरा बजार मुलुकका विभिन्न सहरलगायत अमेरिका र भारतमा समेत पठाएको बताए। उनले फर्म सुरू गर्नुभन्दा पहिलो एक हजार छसय डलर तिरेर भियतनामको एक ड्रागन फर्ममा एक हप्ते तालिमसमेत लिएको अनुभव सुनाए।
'उत्पादित फल बिक्री हुँदैन कि भन्नुपर्दैन ड्रागनका पारखी फर्ममै आउनुहुन्छ', उनले भने, 'बजारको मागअनुसारको फल पुर्याउन सकिएको छैन। बढीमा एकै दिनमा ६० केजीसम्म उत्पादन हुने गरेको छ।'
ड्रागनले रोपेको पहिलो वर्षमा फल्ने र लगातार २० वर्षसम्म उत्पादन दिने गर्दछ। त्रिपाठीले भने, 'फर्ममा अहिलेसम्म ५० लाख खर्च भइसकेको छ भने कृषि ज्ञान केन्द्र कास्कीबाट आर्थिक वर्ष २०८१/०८२ मा चार लाख ७६ हजार ९८५ रूपैयाँबराबरको आर्थिक एवम् प्राविधिक सहयोग पाप्त भएको थियो।
पक्की पिल्लरमा फलामे ट्रष्ट लगाएर निर्माण गरिएको फर्ममा यतिखेर लटरम्म ड्रागन फलेको छ, हिउँदको समयमा पर्ने असिनाबाट बोट र फल जोगाउनका लागि उनले जाली राख्ने फ्रेमसमेत निर्माण गरेका छन्।
उनका अनुसार फर्मभित्र केही महिनाअघि दुईवटा बाँदर पसेका थिए, घुमेर फर्किए। बोटमा काँडा भएका कारण फल खाने आँट गर्न सकेनन्। देशैभरी बाँदरको आतंकका कारण बाँझिएको जग्गामा यस्ता खेतीलाई जोड दिनु उपयुक्त हुने उनको सुझाव रहेको छ।
'जग्गा बाँझो नराखौँ' भन्ने अभियानमा जुटेका त्रिपाठीले ड्रागनको फल मात्र नभइ बिरुवासमेत बिक्री गर्दै आएका छन्। एउटा बिरुवा २ सय रूपैयाँदेखि एक हजार रूपैयाँसम्ममा बिक्री गर्दै आएको बताउँदै उनले भने, 'फुर्केटारी ड्रागन फर्मका बिरुवा नेपालको विभिन्न स्थानसहित भारतको दार्जलिङसम्म पुगेका छन्। बिरुवा बिक्रीबाट पनि राम्रो आम्दानी हुने गरेको छ।'
फर्ममा एउटा फलको तौल ४०० ग्रामदेखि एक किलो ३२ ग्रामसम्मको फलेको बताउँदै उनले सरकारी सेवाबाट निभृत्तिभरण भइसकेपछिको समय अनावश्यक रूपमा खर्च गर्नुभन्दा कृषि कर्ममा लाग्दा अत्यन्त खुशी लागेको बताए। फर्ममा दैनिक दुइदेखि पाँचजनाले रोजगारीसमेत प्राप्त गरेका छन्।
पोखरा-२५ का वडाअध्यक्ष मोतिलाल तिमिल्सिनाका अनुसार आलु गाउँले परिचित हेमजामा पछिल्लो समय कृषक ड्रागन खेतीतर्फ आकर्षित हुँदै गएको बताए। फुर्केटारी एग्रो फर्मले ड्रागन फल उत्पादनका साथै गुणस्तरलाई जोड दिँदै आएको कारण यो क्षेत्र पछिल्लो समय ड्रागनको रुपले परिचित हुँदै गएको उनको भनाइ रहेको छ।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले फुर्केटारी एग्रो फर्मको स्थलगत अध्ययन गरेको जनाउँदै मुलुकमा ड्रागन खेती विस्तार हुने क्रम बढेपनि पुर्केटारीमा उत्पादित फल स्वादिष्ट भएको बताए।
बालबालिका र जेष्ठ नागरिकसमेतलाई खान रुचाउने नरम प्रकृतिको ड्रागन फलमा पानी, प्रोटिन, खरानी, चिल्लो पदार्थ, रेसा, क्यारोटिन, क्याल्सियम फोसफोरस, फलाम, भिटामिन वान, भिटामिन बिटु, भिटामिन बिथ्री, भिटामिन सी, थायमिन र नियसिनलगायतका तत्व पाइने कृषि विज्ञको धारणा छ।
प्रतिक्रिया