विराटनगरमा सरकारी गाडी जलाएको अभियोग लागेका विद्यार्थी नेताहरु निर्दोष ठहर

मंगलबार, १० भदौ २०८२

विराटनगर । विराटनगरमा १ वर्षअघि भएको सरकारी गाडी आगजनी तथा तोडफोड प्रकरणमा दायर आपराधिक उपद्रव मुद्दामा जिल्ला अदालत मोरङले विद्यार्थी नेताहरूलाई सफाइ दिएको छ । 

न्यायाधीश मेघनाथ चापागाईंको इजलासले पर्याप्त प्रमाण नपुगेको ठहर गर्दै प्रतिवादीहरूलाई निर्दोष ठहर गर्ने फैसला सुनाएको हो । अदालतले यो फैसला गत असार २२ गते सुनाए पनि यसको पूर्णपाठ हालसालै मात्र तयार भएको छ । 

२०८१ साल जेठ २७ गते बिहान को १ झ ६४४ नम्बरको सरकारी गाडी विराटनगरको रोडशेष चोक हुँदै कोशी प्रदेश योजना आयोगको कार्यालयतर्फ जाँदै गर्दा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि आगजनी गरिएको थियो । सोही दिन कञ्चनजंघा पार्टी प्यालेसमा नेपाल विद्युत प्राधिकरणको सभा भइरहेका बेला बाहिर पार्किङ गरिएका बा १ ञ १८८७, बि एबी ८१८०, बा १ ञ २४१९, बागमती प्रदेश ०१–००१ ञ २७०१ र ०१–००१ ञ २७९० नम्बरका गाडी तोडफोड गरिएको थियो ।  

उक्त घटनासँग मोरङको रंगेलीमा दीपक यादवसहित ४ जना विद्यार्थी पक्राउ परेको पृष्ठभूमि जोडिन्छ । पक्राउको विरोधमा विराटनगरमा विद्यार्थी आन्दोलित भए । आन्दोलनकै क्रममा सरकारी गाडी तोडफोड र जलाउने काम भएको थियो । 

यस प्रकरणमा प्रहरीले नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारीसँग आवद्ध विद्यार्थी नेताहरूमाथि अनुसन्धान अघि बढाएको थियो । सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, देवकुमार साह, प्रोज्वल अधिकारी, जयनारायण पाण्डे र अभिमन्यू यादवलाई प्रतिवादी बनाइएको थियो । यीमध्ये अभिमन्यू यादव र जयनारायण पाण्डे अखिल क्रान्तिकारीका नेता हुन् भने अन्य सबै नेविसंघ महेन्द्र मोरङ क्याम्पस इकाइका नेता कार्यकर्ता थिए । ठकुरी सो क्याम्पसका पूर्वस्ववियु सचिवसमेत हुन् ।

नेपाल सरकार वादी रहेको उक्त मुद्दामा मुलुकी अपराध संहिता २०७४ को दफा २८५ विपरीत आपराधिक उपद्रव गरेको अभियोग लगाइएको थियो । अभियोगपत्रमा तोडफोड र आगजनीबाट भएको करिब २७ लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति पनि प्रतिवादीहरूबाट असुल गर्न माग गरिएको थियो ।

तर, प्रतिवादीहरूले भने आफूहरू घटनामा संलग्न नरहेको, राजनीतिक कारणले फसाइएको र अधिकांशको घटना भएको समयमा उपस्थिति अर्कै स्थानमा रहेको दाबी गरेका थिए । प्रहरीले घटनास्थल वरपरको सीसी टिभी फुटेज, सञ्चारमाध्यमका भिडियो र प्रत्यक्षदर्शीहरूको बयानका आधारमा अनुसन्धान अघि बढाए पनि अदालतमा प्रमाण प्रस्तुत गर्ने क्रममा गम्भीर कमजोरी देखिएको थियो ।

घटनासम्बन्धी फुटेज रहेको सीडी स्क्र्याच भएकाले भिडियो खोल्नै नसकिएको र त्यसको इमेज प्रिन्ट निकाल्न नसकिएको फैसलामा उल्लेख गरिएको छ । सो सीडी÷डिभिडी फाँटका कर्मचारी, सूचना प्रविधि सहायक र वादी–प्रतिवादीका कानुन व्यवसायीको रोहवरमै परीक्षण गर्दा नखुलेको प्रमाणित भएपछि यसलाई अदालतले उपयोग गर्न असमर्थ ठहर गर्‍यो । त्यस्तै प्रत्यक्षदर्शीहरूले पनि प्रतिवादीहरूले नै कसुर गरेको किटानी बयान दिन नसक्दा अभियोग पुष्टि गर्न सक्ने अवस्था बनेन ।

अदालतको फैसलामा भनिएको छ, ‘वारदातस्थल वरपरको सीसी टिभी फुटेजको सिडी÷डिभिडी स्क्र्याच भएकाले इमेज प्रिन्ट निकाल्न सकिएन । प्रतिवादीहरूमाथि अभियोग पुष्टि गर्ने कागज गर्ने व्यक्तिहरूको स्पष्ट बयान पनि प्राप्त भएन । त्यसैले प्रस्तुत प्रमाणले कसुर पुष्टि गर्न सक्ने आधार बनेन ।’

अदालतले अन्ततः सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, देवकुमार साह र प्रोज्वल अधिकारीलाई अभियोग दाबीबाट सफाइ दियो । तर, जयनारायण पाण्डे र अभिमन्यू यादव अदालतमा उपस्थित नभएकाले उनीहरूको मुद्दा मुल्तवीमा राखिएको छ ।

यो घटना विद्यार्थी आन्दोलनसँग प्रत्यक्ष सम्बन्धित थियो । रंगेलीमा दीपक यादवसहित ४ जना विद्यार्थी पक्राउ परेपछि त्यसको विरोधमा सुरु भएको आन्दोलन उग्र बन्दै सरकारी गाडी तोडफोड र आगजनीसम्म पुगेको थियो । नेपाल विद्युत प्राधिकरण र कोशी प्रदेश योजना आयोगका गाडीमा आगजनी र तोडफोड हुँदा ठूलो क्षति भाएको थियो । तर, कानुनी प्रक्रियामा प्रमाण पर्याप्त नभएकाले आरोपित विद्यार्थी नेताहरू निर्दोष ठहर भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार