के तोसिमा कार्कीले रास्वपा छोड्न लागेकी हुन् ?

आइतबार, १२ असोज २०८२

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य तथा पूर्व सांसद तोसिमा कार्कीले जेन–जी आन्दोलनमा आफू सहभागी भएको स्वीकार गरेकी छन्।

उनले आन्दोलनका क्रममा प्रहरीको गोलीबारीबीच समेत उपस्थित भएको दाबी गर्दै पार्टी नेतृत्वलाई कठोर शब्दमा आलोचना गरेकी छन्।

पार्टीभित्र शीर्ष नेतृत्वमाथि असन्तुष्टि बढ्दै जाँदा कार्कीले पार्टीलाई सुदृढ, सफल र समय सापेक्ष रूपान्तरण गर्नुपर्ने धारणा राखेकी छिन्। तर, यस्तो विषय उठाउँदा आफूलाई “Get Out” भन्दै हेप्ने प्रवृत्तिको खुलासा गरेकी छिन्।

उनले चेतावनी दिँदै भनिन्– “हिम्मत भए खुला विशेष अधिवेशन गरौँ, कार्यकर्ताको मत लिएर आएको जिम्मेवारी सम्हाल्ने आँट छ। प्रोपागाण्डा र हेपाहा व्यवहारसँग रत्तीभर डराउँदिन।”

यसअघि रास्वपामा सहमहामन्त्री विपिन आचार्यले नख्खु कारागार घटनामा शीर्ष नेताको संलग्नता भएको आरोप लगाउँदै छानबिनको माग गरेका थिए। त्यसपछि पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरेको छ।

आन्दोलनपछि कार्कीले पार्टी पुनर्गठनका लागि चार बुँदे प्रस्ताव पनि पेस गरेकी थिइन्। उनले पार्टीको सिद्धान्त, नीति, कार्यक्रमदेखि नेतृत्वसम्म पुनरावलोकन गर्नुपर्नेमा जोड दिँदै “आजको समयले खोजेको मध्यमार्गी राजनीतिक शक्ति निर्माणका लागि यही उपयुक्त समय हो” भनिन्।

यसैबिच, रास्वपामा राजीनामाको क्रम तीव्र बनेको छ। पार्टी सभापति रवि लामिछानेको नेतृत्वविरुद्ध असन्तुष्टि बढ्दै जाँदा संस्थापन महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो। त्यसपश्चात् सहमहामन्त्री सुमना श्रेष्ठले पनि पद र पार्टी दुवै छाडिन्।

उनले “देशभन्दा माथि पार्टी, पार्टीभन्दा माथि नेता राख्न थालेपछि पार्टीभित्र आलोचनालाई सहन नसक्ने प्रवृत्ति बढेको” आरोप लगाउँदै पार्टी त्यागेको घोषणा गरिन्। श्रेष्ठपछि केन्द्रीय सदस्य हरि भट्ट र डा। प्रभात अधिकारीले समेत राजीनामा दिइसकेका छन्। यसले रास्वपाको आन्तरिक विवाद थप चर्किएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार