काठमाडौँ : रास्वपा छोडेकी सुमना श्रेष्ठले आफूविरुद्ध अनर्गल र झुटा प्रचार फैलाइएको भन्दै रास्वपाका नेताहरूलाई प्रतिप्रश्न गरेकी छन्।
सुमनाले आफूविरुद्ध भएका प्रहारको जवाफ दिँदै रास्वपाका नेताहरूलाई तीन ठूला दलका टाउकेहरूलाई चोर औँला देखाउँदा बाँकी चारवटा औँला आफैँतर्फ फर्किएको बताएकी छन्।
साथै, उनले क्षणिक लोकप्रियता र केही थान गालीबाट बच्न एक शब्द पनि नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतीहारापन हो भन्दै, त्यस्तो प्रवृत्तिविरुद्ध विद्रोह गर्नु नै साहस हो भनेर स्पष्ट पारेकी छन्।
उनले भनेकी छन्–
“पार्टीभित्रै रहनुभएका र मलाई विश्वास गर्नुभएका साथीहरूलाई मेरो विरुद्ध फैलाइएका अनर्गल र झुटा प्रचारविरुद्ध सचेत गराउन केही कुरा भन्न चाहन्छु।”
१. अवसरवादको परिभाषा फरक हुन्छ भने अर्कै कुरा होला, तर व्यक्तिगत स्वार्थ र लाभका निम्ति आफ्नो नैतिक धरातल र राजनीतिक मूल्य–मान्यताबाट विचलित हुनु नै अवसरवाद हो भने, तीन ठूला दलका टाउकेहरूलाई चोर औँला देखाउँदा बाँकी चारवटा औँला आफैँतर्फ फर्किँदैनन् र?
त्यही प्रवृत्तिलाई मलजल गरेर नयाँ केपी, नयाँ शेरबहादुर, नयाँ प्रचण्ड बनाउन उद्यत हुनु र त्यसैमा आफ्नो फाइदा देख्नु अवसरवाद हो कि होइन? त्यसप्रति असहमति जनाउनु अवसरवाद हो कि अवसरवादको विपरीत? क्षणिक लोकप्रियता र केही थान गालीबाट बच्न एक शब्द पनि नबोल्नु र दास मानसिकता बोकेर लम्पसार पर्नु हुतीहारापन हो कि त्यस्तो प्रवृत्तिविरुद्ध विद्रोह गर्नु हुतीहारापन हो? यही प्रश्न म साथीहरूलाई गर्न चाहन्छु।
२. पार्टीको आधिकारिक धारणा जस्तो गरेर ‘गल्ती भयो’ भनेर स्वीकार गर्ने तर कुनै कारबाही नगर्ने र आचरण–प्रवृत्तिमा सुधार नगर्ने हो भने, कुन मुखले पुरातनवादी दलहरूको विरोध गर्ने? नयाँ मालिकको नयाँ दास बन्ने हो भने पुराना झोले र पुराना दासहरूलाई कुन नैतिक धरातलमा बसेर प्रतिप्रश्न गर्ने? सामान्य नेपाली नागरिकको अगाडि उभिएर ‘हामी फरक छौँ’ भन्न लाज लाग्दैन? एक पटक आफ्नो आत्मालाई एक्लै बसेर सोध्नुस्।
३. प्रधान सेनापतिले ‘रास्वपा’ र ‘दुर्गा प्रसाईँ’ पनि स्टेकहोल्डर हुन् भन्दा मैले प्रतिवाद गरेकै हुँ। आन्दोलन सुरु हुनु अघि आन्दोलनरत युवा पुस्ताले कुनै राजनीतिक पार्टीको झण्डा वा एजेन्डा बोकेर आउनु हुँदैन भनेर स्पष्ट भनेको अवस्थामा, जेनजी आन्दोलनमा हाम्रो सहभागिता देशप्रति निष्ठावान् नागरिकको भन्दा बढी थिएन र हुनु हुँदैन पनि थियो।
सहादत प्राप्त गर्नुभएका ७४ नेपाली वीर–वीरांगना, सयौँ घाइते र लाखौँ नागरिकको सहभागिताको अवमूल्यन हुने गरी त्यतिबेला जङ्गी अड्डा धाउनु भनेको ‘दुर्गा प्रसाईँ’सँगै उभिनु हो र वास्तविक अवसरवादिता देखाउनु हो।
हाम्रो पनि एजेन्डा हो, हामी पनि स्टेकहोल्डर हौँ, हाम्रो पनि माग यिनै हुन् भन्दै धमिलो पानीमा माछा मार्न खोज्ने पृष्ठभूमि बनाउन खोज्दा ती उजाडिएका काख र सिन्दूर रित्तिएका सिउँदो सम्झनुहोस्। यस्तो विषम परिस्थितिमा आफैँले नगरेको सङ्घर्ष र आफैँले नदिएको नेतृत्वलाई ‘मैले गरेँ’ वा ‘मैले दिएँ’ भन्नु कति हदसम्म जनता विरुद्धको गद्दारी र अवसरवाद हो भन्ने प्रश्न अस्वाभाविक होइन। मलाई लाइभ आएर जङ्गी अड्डा जानबाट रोकिन् भनेर मेरो विरुद्ध प्रचार गर्न सक्ने इमान कुन ठाउँमा मिल्काएर आउनुभयो? नख्खुमा इज्जतसँगै मानवता पनि जलाउनुभएको हो र?
४. भ्रम र झुटको बादल हट्ने दिन सत्य र न्यायको कसीमा ‘अवसरवाद’ र ‘कायरता’ दुवैको परीक्षा हुनेछ। लोकप्रियताको बुर्जामा चढेर ‘मेरो मालिक फर्किन्छ र मलाई बक्सिस दिन्छ’ भन्ने आशामा आफ्नो स्वाभिमान बन्दगी राखेकाहरू देख्दा लालच र निरीहता बढ्ने डर पलाएको छ। याद राख्नुस्– लालच बढ्दा ‘अवसरवाद’ मौलाउँछ। निरीहताले जरा गाड्दा ‘हुतीहारापन’ फस्टाउँछ।
वैकल्पिक राजनीतिमा आउन चाहनेहरूलाई म सोध्न चाहन्छु– तपाईँहरू राजनीतिमा आफ्नो अलग पहिचान, देश बनाउनको हुटहुटी र आफ्नै विशिष्टता राष्ट्र र सम्पूर्ण नेपालीप्रति समर्पित गर्न आउनुभएको हो? कि वैकल्पिक शेरबहादुरका लागि वैकल्पिक प्रकाश शरण वा वैकल्पिक केपीका लागि वैकल्पिक महेश बस्नेत बन्न आउनुभएको हो?
यति नै यक्ष प्रश्न सोध्दै, इमानदार उत्तरको अपेक्षा गर्दै म देशप्रति निष्ठावान् र प्रतिबद्ध रहने वाचा गर्दछु।
प्रतिक्रिया