इलाममा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ३५ पुग्यो, चार बेपत्ता

आइतबार, १९ असोज २०८२

इलाम : गएरातिको अविरल वर्षापछि इलाममा आएको बाढी–पहिरोले ठुलो जनधन क्षति पुर्‍याएको छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार अहिलेसम्म ३४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ जना अझै बेपत्ता छन्। दिउँसो सवा १ बजेसम्मको विवरणअनुसार मृतकहरूमध्ये ११ जनाको पोस्टमार्टम सकिएको प्रशासनले जनाएको छ।

मुख्य जिल्ला अधिकारी सुनिता नेपालका अनुसार सूर्योदय नगरपालिका–१ मानेभञ्ज्याङमा ५, इलाम नगरपालिका–६ घोसमा ६ जनाको मृत्यु र यही वडाको बालनगाउँमा १ जना बेपत्ता छन्।

त्यसैगरी सन्दकपुर गाउँपालिकामा ४ जनाको मृत्यु र २ जना बेपत्ता, माङ्सेबुङ गाउँपालिकामा ३, देउमाई नगरपालिकामा ८, माइजोगमाई गाउँपालिकामा ७ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन्। फाकफोकथुम गाउँपालिकामा पनि १ जनाको मृत्यु भएको छ।

उहाँका अनुसार विभिन्न स्थानबाट थप विवरणहरू आउँदै छन्, जसले मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

पहिरोका कारण मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ भने केचना–कञ्चनजङ्घा मार्ग र अन्य वैकल्पिक मार्गहरू समेत सञ्चालनमा छैनन्।

यस बिचमा, नेपाली सेनाको हेलिकप्टरले माङ्सेबुङ गाउँपालिका–१ गजुरमुखीबाट गर्भवती साधना लिम्बू, मदन लिम्बू र उनीहरूका छोरा संयोग लिम्बूलाई उद्धार गरेको छ। उनीहरू पहिरोमा फसेका थिए र गम्भीर घाइते अवस्थामा रहेका छन्।

स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी र सेनाले उद्धार तथा राहत कार्य तीव्र बनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार