‘खेलले उमेर भन्दैन’ नारासहित सुनसरीको प्रकाशपुरमा भेट्रान्स कप फुटबल प्रतियोगिता हुँदै

शुक्रबार, २४ असोज २०८२

सुनसरी : ‘खेलकुद जसले गर्छ, उसको आयुसम्म सुस्वास्थ्य रहिरहन्छ साथै खेलले उमेर भन्दैन’ भन्ने नाराका साथ प्रथम प्रकाशपुर भेट्रान्स कप–२०८२ फुटबल प्रतियोगिता हुने भएको छ।

प्रकाशपुर भेट्रान्स क्लबको आयोजनामा आगामी असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरस्थित श्री प्रकाश माध्यमिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने क्लबले जनाएको छ।

बराहक्षेत्र नगरपालिका–१० को कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष श्याम कटवालले खेलमा इटहरी, मदेली, नेताचोक, धरान, विराटनगर, दुहबी, सुन्दरहरैचा र आयोजक प्रकाशपुर गरी आठ टिमको सहभागिता रहने जानकारी दिए।

उनले खेललाई मनोरञ्जन र स्वास्थ्य दुवैसँग जोडिएको अवसरका रूपमा लिएर सम्पूर्ण खेलप्रेमीहरूलाई निःशुल्क रूपमा खेल हेर्न आमन्त्रण गरे।

क्लबका खेलकुद संयोजक सन्तोष आचार्यका अनुसार, प्रतियोगितामा विजेता टोलीले नगद ५० हजार १०० रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी र मेडल पाउनेछन्। यस्तै, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ शीर्षकअन्तर्गत रु १,१११ पुरस्कार प्रदान गरिनेछ।

क्लबले विभिन्न सङ्घ–संस्था र स्थानीयको सहयोगमा प्रतियोगिताको तयारी पूरा गरेको बताएको छ। आयोजकका अनुसार भेट्रान्स कपले प्रकाशपुर क्षेत्रको खेलकुदमा नयाँ ऊर्जा थप्ने र अनुभवी खेलाडीबिच मैत्रीपूर्ण प्रतिस्पर्धाको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार